Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

बाटो र पुलको काम बढाउन प्रदेश सरकारलाई तीन गाउँपालिका अध्यक्षको ध्यानाकर्षण

सडक अभावको पीडा : तीन गाउँपालिकाका बासिन्दा कहिलेसम्म सास्ती बेहोर्ने?

  •   १ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

 फागुन २१, हेटौंडा ।बागमती प्रदेश अन्तर्गत खानीखोला, महाभारत (काभ्रेपलाञ्चोक) र बागमती गाउँपालिका (मकवानपुर) का बासिन्दाहरू वर्षौंदेखि सडकको अभावमा चरम समस्या भोग्दै आएका छन्। यी दुर्गम भेगलाई हेटौंडा जोड्ने एक मात्र मुख्य सडक मार्ग झुझुरे-भोर्लेनी, तालढुंगा, देवीटार सडक अस्थिर र जीर्ण अवस्थामा रहेको छ। सो मार्ग हुँदै बिपी लोकमार्ग जोडिन्छ, तर वर्षायाममा सडक बिग्रिएर यातायात ठप्प हुने समस्याले स्थानीयलाई चरम दुःख दिँदै आएको छ।


झन्, प्रदेश सरकारले गौरवको आयोजना भन्दै अघि बढाएको जनमुक्ति मार्ग हालसम्म पूर्ण रूपमा निर्माण सम्पन्न हुन सकेको छैन। मकवानपुरको झुझुरे (मदन भण्डारी मार्ग) हुँदै खानीखोला र महाभारत गाउँपालिकाका केन्द्र जोड्ने यो आयोजना हाल निर्माणाधीन अवस्थामा छ, तर कार्य अधुरो र अव्यवस्थित छ। 


पुल अधुरै, आठ वर्षदेखि प्रतिक्षा

यी तीन गाउँपालिकाका हजारौं बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्नेगरी आठ वर्षअघि निर्माण थालिएको बागमती नदीको सिक्रे दोभान पुल हालसम्म अलपत्र छ। जिल्ला विकास समिति मकवानपुरमार्फत सुरु गरिएको यो योजना २०७३/७४ मा महाविर/शिखर/तामाकोशी जेभी निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो। तर, आठ वर्ष बितिसक्दा पनि पुल अधुरो छ।

स्थानीय बासिन्दा र तीन वटै गाउँपालिकाका अध्यक्षहरू यस अवस्थाले प्रदेश सरकारकै प्रतिष्ठामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताउँछन्। प्रदेश सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरी पुल निर्माण यथाशिघ्र सम्पन्न गर्न तीन गाउँपालिकाका अध्यक्षहरूले आज बागमती प्रदेशको मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

बाढीले पुर्‍याएको क्षति, सडक पुनर्निर्माणको माग

गत असोज ११ र १२ गतेको बाढीले रोशी र महाभारत जोड्ने एक मात्र थान्सिङबेसी पुल बगाएपछि स्थानीय थप समस्यामा परेका छन्। सोही बाढीले जनमुक्ति मार्ग अन्तर्गत हात्तिसार-सिक्रे दोभान खण्डको ७०० मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

त्यसैगरी, २०७७ सालमा ठेक्का सम्झौता भएको तिनखुट्टे-देवीटार सडक खण्ड (८.७ किमी) को काम पटक-पटक समयावधि थप हुँदा समेत ६० प्रतिशत मात्र पूरा भएको छ। खानीखोला र पार्वती खोला पुलको अवस्था समेत जिर्ण छ। यी संरचनाहरू शीघ्र पुनर्निर्माण गरिनुपर्नेमा स्थानीय नेतृत्वले जोड दिएका छन्।


स्थायी समाधानको माग

सडक र पुलको अभावले यहाँका जनताले हरेक वर्ष सास्ती खेप्नुपरेको छ। खानीखोला जलविद्युत आयोजना जस्ता ठूला परियोजनाहरू सञ्चालन भइरहँदा समेत स्थायी सडक पूर्वाधार निर्माण हुन नसक्नु दुर्गम भेगको उपेक्षा दर्शाउँछ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले प्रदेश सरकारलाई तत्काल ध्यान दिन आग्रह गर्दै अविलम्ब पुल निर्माण कार्य पूरा गर्न र वैकल्पिक छोटो सडक मार्ग खोल्न माग गरेका छन्।

"स्थानीय बासिन्दाले प्रत्येक वर्ष यातायात अभावले जीवन संकटमा परिरहेको छ। हामी प्रदेश सरकारलाई यी समस्याहरूको गम्भीर समीक्षा गरी तत्काल समाधान खोज्न आग्रह गर्दछौं," गाउँपालिकाका अध्यक्षहरूको संयुक्त वक्तव्यमा उल्लेख छ।

अब प्रश्न उठ्छ—प्रदेश सरकार कहिलेसम्म चुप लाग्ने? स्थानीय जनताले कहिलेसम्म अस्थायी उपाय खोजेर गुजारा चलाउने? अबको समय अलमलको होइन, कार्यान्वयनको हो। स्थानीयहरू भन्छन् हामी माथि अपेक्षा गरिन्छ चुनावी अभियानमा यी सबै विकास कुरा समेटिन्छ तर चुनाव सकिए पछि यी सबै कुरा किन बिर्सिन्छ? ऊनीहरुको प्रस्न छ ।


  • Jigyasa media

थप