जिज्ञाशा नेपाल संवाददाता | सोमबार, जेठ १२, २०८२
इजरायलले आइतबार गाजाको विभिन्न क्षेत्रमा पुनः हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ भने अझै केही व्यक्ति भग्नावशेषमा बेपत्ता छन्।
उत्तर गाजाको जबालिया क्षेत्रमा एक आवासीय घरमा भएको बम आक्रमणमा ७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। यस्तै, नुसेरात क्षेत्रमा विस्थापितहरू बसेको टेन्टमाथि आक्रमण हुँदा २ जनाको ज्यान गएको जनाइएको छ, जसमा एकजना ७ महिनाकी गर्भवती महिला समेत परेकी छन्।
यसैबीच, गाजाको नागरिक सुरक्षा विभाग प्रमुख अशरफ अबु नर र उनकी धर्मपत्नी समेत आफ्नै घरमा भएको आक्रमणमा ज्यान गुमाएका छन्।
अन्य घातक हमलाहरू देइर अल बालाह, बेत लाहिया र खान युनिस क्षेत्रमा भएको समाचार प्राप्त भएको छ।
नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालका अनुसार, आइतबार एकै दिन २२ वटा शव फेला पारिएको छ, जसमा केही बालबालिकाहरू पनि छन्। घाइतेहरूको उद्दार कार्य जारी रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
हालसम्म इजरायली सुरक्षाफौजले यस विषयमा कुनै आधिकारिक टिप्पणी दिएको छैन। तर, इजरायली सेनाले हालै गाजामा हमासलाई निर्मूल पार्ने अभियान तीव्र बनाएको दाबी गर्दै आएको छ।
इजरायलका अनुसार, शनिबार मात्र २४ घण्टामा १०० भन्दा बढी स्थानमा आक्रमण गरिएको हो।
गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, यही ५ मार्चदेखि अर्थात् युद्धविराम अन्त्यपछि मात्रै ३ हजार ७८५ जनाको मृत्यु भइसकेको छ। योसँगै सन् २०२३ अक्टोबरदेखि हालसम्म मृत्यु हुनेको संख्या ५३ हजार ९३९ पुगेको जनाइएको छ, जसमा बहुसंख्यक सर्वसाधारण रहेका छन्।
युद्धको सुरुवात २०२३ अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमण पछि भएको थियो, जसमा १,२१८ इजरायलीको मृत्यु भएको थियो। साथै, हमासले २५१ जनालाई बन्धक बनाएको थियो, जसमध्ये हालसम्म ५७ जना अझै गाजामा छन्, र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।
गाजाको अवस्था दिनप्रतिदिन अत्यन्त भयावह र मानवीय संकटपूर्ण बन्दै गएको छ।
-
Jigyasanepal