Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पनौती नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा, सम्पूर्ण १२ वडामा प्रमाणपत्र वितरण

  •   १ वर्ष अघि | १८ जेष्ठ २०८२, आइतवार

काभ्रे, पनौती ।

काभ्रेको पनौती नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। आइतबार आयोजित औपचारिक समारोहमार्फत जिल्ला खोप समितिले पनौतीका सबै वडामा रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई आवश्यक सम्पूर्ण खोप दिइसकिएको प्रमाणित गर्दै पूर्णखोपको घोषणा गरेको हो।

नगरका १२ वटै वडाले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि सम्पूर्ण वडालाई स्वास्थ्य संस्थामार्फत प्रमाणपत्र वितरण गरिएको छ। यो उपलब्धिका पछाडि स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, वडाध्यक्षदेखि स्थानीय सरकारसम्मको सामूहिक प्रयास रहेको आयोजक पक्षको भनाइ छ।

गृह सर्वेक्षणदेखि प्रमाणित घोषणा सम्मको विस्तृत प्रक्रिया

पनौतीलाई पूर्णखोप घोषणा गर्नुअघि माघ र फागुन महिनामा खोप समितिको बैठक बसेर आवश्यक तयारी गरिएको थियो। यसक्रममा स्वास्थ्यकर्मीहरूले घरधुरीमै पुगेर अनुसूची ५ र ६ अनुसार डेटा संकलन गरे। प्राप्त विवरणलाई समितिले पुनः भेरिफिकेशन गरी कुनै पनि बालबालिका खोपबाट वञ्चित नभएको प्रमाणित गरेपछि मात्रै पूर्णखोप घोषणा गरिएको हो।

जनस्वास्थ्य कार्यालय धुलिखेल र जिल्ला खोप समितिले संयुक्तरूपमा मूल्यांकन गरेर औपचारिक रूपमा घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमका दौरान नगर स्वास्थ्य शाखा प्रमुख जनक केसीले पूर्णखोप सुनिश्चिततासम्बन्धी सम्पूर्ण प्रक्रिया र तथ्याङ्कबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

स्थानीय नेताहरूको प्रतिबद्धता र प्रशंसा

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले पनौती नगरपालिकाले बालमैत्री कार्यक्रमहरूमा अग्रसरता देखाउँदै आएको उल्लेख गर्दै, “बालबालिकामा लगानी गर्नु भनेको समृद्ध राष्ट्र निर्माणतर्फको यात्रा हो,” भन्नुभयो।

नगर उपप्रमुख गीता बञ्जाराले पूर्णखोप सुनिश्चिततासँगै अब बालमैत्री तथा पोषणमैत्री स्वास्थ्य संस्था स्थापनातर्फ पनि चाँडै काम अघि बढाइने जानकारी दिइन्।

नगर प्रमुख रामशरण भण्डारीले विपतको कठिन परिस्थितिमा समेत स्वास्थ्यकर्मीले देखाएको सक्रियता र समर्पणको प्रशंसा गर्दै पनौती नगरपालिकाले यस अभियानमा गौरवपूर्ण उपलब्धि हासिल गरेको बताए। “बालबालिकामा लगानी नै सुनौलो भविष्यको ग्यारेन्टी हो,” भन्दै उहाँले खोप सुनिश्चितताको दिगोपनाका लागि सबै तहका सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

प्रतिबद्धता पत्रमा हस्ताक्षर

कार्यक्रमको अन्त्यमा नगर प्रमुख, उपप्रमुख, जिसस प्रमुख, १२ वटै वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाको पक्षमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।

पनौती नगरपालिका स्वास्थ्य शाखाका अनुसार यसै वर्ष किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणाको प्रक्रिया पनि अगाडि बढाइएको छ, जसले स्वास्थ्य पहुँचमा अझै सहुलियत ल्याउने विश्वास गरिएको छ।

  • Jigyasanepal

थप