काभ्रे । सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक सूचनाहरु र नगर प्रतिनिधिहरुको चरित्र हत्या गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पनौती नगरपालिकाले आवश्यक परेमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।
नगर प्रमुख रामशरण भण्डारीले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा हाल नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय संघसंस्थाहरुलाई लक्षित गरी फेसबुक, पेज, युट्युब लगायतका माध्यमबाट अमर्यादित, अपमानजनक तथा गालीगलौजपूर्ण सामग्रीहरू प्रकाशन तथा प्रसारण भइरहेको उल्लेख छ।
‘सञ्चार स्वतन्त्रता होइन, चरित्र हत्या’
नगरपालिकाले यस्तो प्रवृत्तिलाई सञ्चारको स्वतन्त्रता नभई ‘व्यक्तिगत मानमर्दन र समाजमा अफवाह फैलाउने अपराध’को रूपमा व्याख्या गर्दै ती कार्यहरू विधि विपरित, नैतिकताको सीमाभन्दा बाहिर र कानुनी दृष्टिले दण्डनीय रहेको जनाएको छ।
"यदि कसैलाई नगरपालिका वा पदाधिकारीका गतिविधिप्रति असन्तुष्टि छ भने कानुनी प्रक्रिया अनुरूप जानकारी लिने अधिकार नागरिकसँग सुरक्षित छ। तर त्यसको विकल्पमा मानहानी हुने गरी भिडियो काँटछाँट, गालीगलौज र असत्य विवरण प्रवाह गर्नु कदापि उचित होइन," विज्ञप्तिमा भनिएको छ।
‘भ्रामक सूचना र भड्काउ पोस्टबाट टाढा बस्न’ अपिल
नगर प्रमुख भण्डारीले सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा अनावश्यक कमेन्ट, शेयर वा पोस्ट नगरिदिन नगरवासीलाई आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “यस किसिमका भड्काउ, अनर्गल तथा कपोकल्पित प्रसारमा नलाग्न र आफ्नो धारणा सत्य तथ्य बुझेर मात्र बनाउन अनुरोध छ।”
यदि यस्ता गतिविधिहरु रोकिएनन् भने नगरपालिका बाध्य भएर कानुनी प्रक्रिया अघि बढाउने चेतावनी समेत नगर प्रमुख भण्डारीले दिएका छन्।
पारदर्शिता र जिम्मेवारीपूर्ण अभिव्यक्तिको आग्रह
विज्ञप्तिको अन्त्यमा नगरपालिका सबैप्रति पारदर्शी छ भन्ने विश्वास दोहोर्याउँदै, सूचना माग्न वा राय राख्न चाहने जो–कोहीले औपचारिक तरिकाबाट सम्पर्क गर्न सक्ने भनिएको छ। नगरवासी र सरोकारवालाहरुलाई संयमित, सत्य र जिम्मेवारीपूर्ण अभिव्यक्तिको अभ्यास गर्न पनि अपिल गरिएको छ।
-
Jigyasanepal