नयाँदिल्ली, वैशाख २६ – भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतभर रहेका नेपाली समुदायप्रति नेपाल सरकार गम्भीर बनेको छ। घटनापछि उत्पन्न अस्थिर सुरक्षा अवस्थालाई ध्यानमा राख्दै भारतस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन तथा आपत्कालीन अवस्थाका लागि तयारी रहन अपिल गरेको छ।
दूतावासले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “भारतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई सुरक्षा सतर्कता अपनाउन, भारत सरकारद्वारा जारी भएका निर्देशनहरूको पूर्ण पालना गर्न तथा नजिकको आपत्कालीन सेवा सुविधा पाइने स्थानको पहिचान गरी सजग रहन हार्दिक अनुरोध गरिन्छ।”
दूतावासले थप जनाएको छ कि कुनै पनि आपत्कालीन अवस्थामा नेपाली नागरिकलाई आवश्यक समन्वय तथा सहायता उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि भारतका विभिन्न स्थानमा रहेका नेपाली नियोगमा विशेष सम्पर्क नम्बरहरू समेत उपलब्ध गराइएको छ।
सहयोग आवश्यक परेमा सम्पर्क गर्न सकिने नम्बरहरूः
नेपाली दूतावास, नयाँदिल्लीः +९१–११२३४७६२००
हटलाइन नम्बरः +९१–८९२९६०१९२५
महावाणिज्य दूतावास, कोलकाता – टेलिफोनः +९१–०३२४५६१२२४
मोबाइलः +९१–९७४८४६६९००
दूतावासले नेपाली नागरिकलाई अफवाह र असत्य जानकारीमा विश्वास नगर्न, कुनै पनि संकटको अवस्थामा निकट नेपाली नियोगसँग तुरुन्त सम्पर्क गर्न र भारतीय सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न आग्रह गरेको छ।
-
Jigyasanepal