काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश भूभागमा बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। राति पनि विभिन्न प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधिका क्रममा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
-
Jigyasanepal