पनौती । काभ्रे जिल्लाको पनौतीमा एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञबाट संकलित रकमलाई लिएर विवाद उत्पन्न भएको छ। श्रीमद्भागवत प्रचारप्रसार सेवा संघ पनौती शाखा र पुण्य माध्यमिक विद्यालयको संयुक्त आयोजनामा २०६९ साल फागुन ७ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको महायज्ञबाट उठेको रकममध्ये खर्च कटाएर बाँकी रहेको ७ लाख ४८ हजार ५ सय ५५ रुपैयाँ सुरक्षित रूपमा सहकारीमा जम्मा गरिएको थियो।

उक्त रकम विन्धवासिनी ऋण तथा बचत सहकारी संस्थामा श्रीमद्भागवत प्रचारप्रसार सेवा संघ पनौती शाखाको नाममा खाता खोली राखिएको थियो। खातामा रमेश कर्माचार्य, ओतबहादुर खड्का र सरस्वती कणेलको संयुक्त हस्ताक्षर चल्ने व्यवस्था गरिएको थियो। महायज्ञको मुख्य उद्देश्य पनौती क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालन गर्नु रहेको बताइएको छ।
तर पछिल्लो समय उक्त रकम संघ तथा कोषाध्यक्ष सरस्वती कणेललाई जानकारी नै नदिई पुण्य माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्ने तयारी गरिएको भन्दै विवाद चुलिएको हो। काभ्रेबाट प्रकाशित एक साप्ताहिक पत्रिकामार्फत कुनै शीर्षक उल्लेख नगरी रकम हस्तान्तरण सम्बन्धी सूचना प्रकाशित भएपछि सरोकारवालाहरूले आपत्ति जनाएका छन्।
सम्बन्धित पक्षका अनुसार २०७१ सालसम्म लगातार बैठक तथा माइन्युट गरेर एम्बुलेन्स खरिद गर्ने निर्णयहरू गरिएको थियो। तर संकलित रकम अपुग भएपछि तत्काल एम्बुलेन्स खरिद गर्न नसकिएको बताइएको छ। त्यसपछि एम्बुलेन्स खरिद गरी पनौती स्वास्थ्य चौकी उपशाखालाई हस्तान्तरण गर्ने विषयमा छलफल अगाडि बढाइएको थियो।
एम्बुलेन्स खरिदका लागि कोटेशन माग गर्ने प्रक्रिया अघि बढ्दा विद्यालयको नाममा खरिद गर्नु नियमसम्मत नहुने निष्कर्ष निकालिएको दाबी गरिएको छ। त्यसपछि श्रीमद्भागवत प्रचारप्रसार सेवा संघकै नाममा प्रस्ताव तयार पार्ने निर्णय भएको र सो प्रस्ताव स्वयं आफूले तयार गरेर पेश गरेको दाबी पनि सरोकारवालाले गरेका छन्।
महायज्ञसँग जोडिएका व्यक्तिहरूले एम्बुलेन्स खरिद कुनै सर्तबिना समाजकै हितका लागि हुनुपर्ने अडान राख्दै आएका थिए। तर अहिले रकम अन्यत्र लैजाने प्रयास भएको भन्दै पारदर्शिता, वैधानिकता र निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ।
स्थानीयवासीले धार्मिक तथा सामाजिक उद्देश्यका लागि उठाइएको रकम सोही उद्देश्यमा खर्च हुनुपर्ने माग गरेका छन्। उनीहरूले महायज्ञबाट संकलित रकमको स्पष्ट विवरण सार्वजनिक गर्न, निर्णय प्रक्रियालाई पारदर्शी बनाउन र एम्बुलेन्स खरिदको मूल उद्देश्यलाई विचलित हुन नदिन सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
स्थानीय वासी तथा दाताहरूले धार्मिक तथा सामाजिक उद्धेश्यका लागि उठाईएकाे रकम साेहि उद्देस्यमा खर्च हुनु पर्ने माग सहित अन्यत्र खर्च भएका नियम अनुसार कानुनि प्रक्रिया अघि वढाईने बताएका छन् ।

-
Jigyasanepal