काठमाडौं । नेपालमा सडक दुर्घटना भयावह बन्दै गएको छ। देशको उत्पादनशील युवा जनशक्ति नै सडकमा अकालमा गुमिरहेको अवस्थामा पनि दुर्घटना न्यूनीकरण प्रभावकारी बन्न सकेको छैन। बढ्दो सवारीसाधनको चापअनुसार सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र चालकको व्यवहारमा सुधार नआउँदा हरेक दुई दिनमा औसत १५ जनाले ज्यान गुमाइरहेका छन्।
नेपाल प्रहरीको राजमार्ग तथा ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म मात्रै २ हजार २०० भन्दा बढी मानिसको सवारी दुर्घटनामा मृत्यु भइसकेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ४३ हजार १६५ वटा सवारी दुर्घटनामा परी २ हजार ५४९ जनाले ज्यान गुमाएका थिए।
दुर्घटनाको मुख्य कारण तीव्र गति देखिएको छ। प्रहरी तथ्यांकअनुसार कुल दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण हुने गरेका छन्। मादक पदार्थ सेवन, लागुपदार्थ सेवन, सडकको खराब अवस्था, चालकको लापरवाही र सवारीसाधनको प्राविधिक समस्या पनि दुर्घटनाका प्रमुख कारण बनेका छन्।
वैशाख महिनामा मात्रै देशभर २ हजार २९४ दुर्घटना भएका थिए। तीमध्ये १ हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएका थिए। चालकको अक्षमता, हतारमा बाटो काट्ने, मापसे तथा अनावश्यक ओभरटेकका कारण पनि सयौँ दुर्घटना भएका छन्। यही अवधिमा २३९ जनाको मृत्यु भएको छ भने ७५२ जना गम्भीर र ३ हजार २२० जना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार सबैभन्दा बढी दुर्घटना साँझ ६ बजेदेखि राति १२ बजेसम्म हुने गरेका छन्। त्यस अवधिमा मात्रै ८५९ दुर्घटना भएका थिए।
राजमार्ग तथा ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी भुवनेश्वर तिवारीका अनुसार पाँच वर्षअघि मापसे दुर्घटनाको मुख्य कारण थियो भने अहिले लापरवाहीपूर्वक सवारी चलाउने प्रवृत्ति तीव्र रूपमा बढेको छ। विशेषगरी युवा चालक, बस, ट्रक र टिपर चालक बढी जोखिममा रहेको उनले बताए।
नेपालमा २० देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी सडक दुर्घटनाको सिकार बनिरहेका छन्। १८ वर्ष पुगेपछि मोटरसाइकल किन्ने र असुरक्षित तरिकाले चलाउने प्रवृत्तिले सहरी क्षेत्रमा धेरै युवाको ज्यान गइरहेको सरोकारवालाहरू बताउँछन्। गत आर्थिक वर्ष मृत्यु हुनेमध्ये २५ वर्षमाथिका मात्रै १ हजार ८३७ जना रहेका थिए।
विशेषज्ञहरूका अनुसार ट्राफिक नियमको जानकारी नहुनु भन्दा पनि नियम जान्दाजान्दै पालना नगर्ने प्रवृत्ति ठूलो समस्या बनेको छ। दुर्घटना भएपछि छानबिन समिति गठन गर्ने, प्रतिवेदन बनाउने र सुझाव दिने परम्परा दोहोरिए पनि कार्यान्वयन कमजोर हुँदा सडक अझै असुरक्षित बन्दै गएको छ।
प्रहरीले मोटरसाइकल चालक, सार्वजनिक यातायातका चालक, पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरेर सचेतना अभियान अघि बढाउने तयारी गरेको जनाएको छ। तर विज्ञहरू भन्छन्— जबसम्म सडक सुरक्षा राष्ट्रिय प्राथमिकतामा पर्दैन, तबसम्म नेपाली युवाको जीवन सडकमा यसरी नै समाप्त भइरहनेछ।
-
Jigyasanepal