Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान

  •   ३ हप्ता अघि | २६ भदौ २०८३, शुक्रबार

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन्। वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउनुका साथै जीवित बाबुको सम्मान र दिवंगत पिताप्रति श्रद्धा अर्पण गरेर यो पर्व मनाउने परम्परा छ।

भाद्रकृष्ण औँसीका दिन पर्ने यस पर्वमा शास्त्रीय विधिअनुसार पूजा गरी उखेलिएको कुश घरमा राख्ने चलन छ। आजकै दिन उखेलिएको कुश वर्षभर धार्मिक कार्यमा प्रयोग गर्न सकिने मान्यता रहेको प्रा. डा. देवमणि भट्टराई बताउँछन्। अन्य दिन उखेलिएको कुश भने सोही दिन मात्र प्रयोग गर्न मिल्ने धार्मिक विश्वास छ।

सनातन परम्परामा कुशलाई धार्मिक कर्मका लागि अत्यन्त पवित्र वनस्पतिका रूपमा लिइन्छ। कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुसँग सम्बन्धित पवित्र प्रतीक मान्ने धार्मिक मान्यता छ। आज घरमा भित्र्याइएको कुश वर्षभर हुने देवपूजा, श्राद्धलगायत पितृसम्बन्धी कर्ममा प्रयोग गरिन्छ।

बाबुको सम्मान गर्ने दिन

कुशेऔँशीलाई बाबुको सम्मान गर्ने विशेष दिनका रूपमा पनि लिइन्छ। जीवित बाबुलाई छोराछोरीले आफूलाई मनपर्ने परिकार तथा मिठाइ खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने गर्छन्।

बाबुको निधन भइसकेकाहरू भने गोकर्णलगायत विभिन्न तीर्थस्थलमा पुगेर पितृको नाममा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने परम्परा छ। यही कारण यस दिनलाई पितृसम्मान दिवसका रूपमा समेत सम्झिने गरिन्छ।

गोकर्णमा विशेष धार्मिक चहलपहल

कुशेऔँशीका अवसरमा काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष धार्मिक मेला लाग्ने गर्छ। उत्तरगया भनेर समेत चिनिने गोकर्णमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ। यसै कारण भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ।

गोकर्णेश्वर मन्दिर क्षेत्रमा मेलाका लागि आवश्यक तयारी पूरा गरिएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिएका छन्।

रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि पितृको सम्झनामा धार्मिक गतिविधि हुने गर्छ। तर यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण त्यहाँ मेला सञ्चालन हुने वा नहुने विषयमा अन्योल रहेको बताइएको छ।

‘पितृदेवो भव’ भन्ने मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिनु तथा दिवंगत बाबुको नाममा तीर्थस्थलमा पुगेर तर्पण र पिण्डदान गर्नु पुण्यदायी मानिन्छ। धार्मिक ग्रन्थहरूमा समेत यस दिन गरिने दान तथा पितृकर्मलाई विशेष फलदायी मानिएको उल्लेख पाइन्छ।

  • Jigyasanepal

थप