काठमाडौं, असार १५ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका लगातार तीन आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्न सफल स्थानीय सरकारका रूपमा सम्मानित भएको छ।
महालेखा परीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा गाउँपालिकालाई सम्मान गरिएको हो। अध्यक्ष कान्छालाल जिम्बाले नेतृत्व गरेको पालिकामा देशै भरिका पालिकामा शून्य बेरुजु पालिकाको रूपमा स्थापित भएको छ ।
आज सोमबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डिपि अर्यालको प्रमुख आतिथ्यता रहेको थियो। साथै सार्वजनिक लेखा समितिका सभापति, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरू तथा उच्च सरकारी अधिकारीहरूको विशेष उपस्थितिमा पालिका लाई सम्मान गरिएको थियो।
महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ सम्म लगातार तीन पटक शून्य बेरुजु कायम गर्दै वित्तीय अनुशासन, पारदर्शिता, जवाफदेहिता र सुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान प्रदान गरिएको हो।
गाउँपालिकाले प्राप्त गरेको यो उपलब्धि आम नागरिकको साथ, सहयोग, सहभागिता, रचनात्मक सुझाव तथा आलोचना, जनप्रतिनिधि र कर्मचारीहरूको इमानदार मेहनत तथा सम्पूर्ण सरोकारवालाहरूको निरन्तर सहयोगको परिणाम भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले यस उपलब्धिले आगामी दिनमा पनि सुशासन, पारदर्शी वित्तीय व्यवस्थापन र जनउत्तरदायी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रेरणा मिलेको अध्यक्ष जिम्बाले बताए ।
उनले यस ऐतिहासिक उपलब्धिका अवसरमा महाभारत गाउँपालिकाले सम्पूर्ण महाभारतवासी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छ्न । पालिकाको उपलब्धिले काभ्रे जिल्लाका बुद्विजिवी जनप्रतिनिधिहरु लगायतले शुभकामना व्यक्त गरेका छन।
-
Jigyasanepal