पाँचखाल । पाँचखाल नगरपालिका–४ मा सम्पन्न प्रथम खुल्ला फुटबल प्रतियोगिता–२०८२ को उपाधि ब्राइट स्टार क्लब ले हात पारेको छ। समाजकल्याणमा क्रियाशील भविष्य निर्माण युवा क्लब को आयोजनामा र पाँचखाल नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगिताले स्थानीय खेल क्षेत्रमा नयाँ उत्साह भरेको छ।
शनिबार भएको रोमाञ्चक फाइनलमा ब्राइट स्टार क्लबले पाँचखाल वडा नं ७ लाई २–० गोलको स्पष्ट अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि आफ्नो नाममा दर्ता गर्यो। उपाधि विजेता टोलीलाई नगद रु. १,००,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता बनेको पाँचखाल वडा नं ७ ले रु. ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले खेलकुदलाई आपसी सद्भाव, एकता र स्वस्थ समाज निर्माणको मूल आधारका रूपमा सम्बोधन गर्दै खेलको महत्वबारे जोड दिनुभयो। उहाँले भन्नुभयो – > “खेललाई प्रतिस्पर्धा मात्र होइन, मित्रता र सहअस्तित्वको माध्यमका रूपमा बुझ्नुपर्छ। पाँचखाल नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा निरन्तर प्राथमिकता दिइरहेको छ।”
कार्यक्रममा आयोजक क्लबका अध्यक्ष सुबास श्रेष्ठले क्लबले आगामी दिनमा पनि युवाका लागि विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। क्लबका कोषाध्यक्ष मनिष दुलालले व्यवस्थापनमा केहि कमी कमजोरी भएको स्वीकार गर्दै, आगामी प्रतियोगिताहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो। साथै, प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीय, व्यापारी र खेलप्रेमीहरूलाई उहाँले धन्यवाद दिनुभयो।
उक्त प्रतियोगिताको उद्घाटन कार्तिक १० गते पाँचखाल नगरपालिकाकी उप–प्रमुख सुर्यमाया दनुवारले गर्नुभएको थियो। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो।
स्थानीय युवाको उत्साह, जनसहभागिता र नगरपालिकाको सहयोगले सम्पन्न यो फुटबल प्रतियोगिताले पाँचखाललाई खेलकुदमैत्री नगरको रूपमा अघि बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
-
Jigyasanepal