काभ्रे ।
बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा उपविजेता भएर स्वदेश फर्किएका खेलाडीमध्ये रोहन श्रेष्ठलाई काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ ले सम्मान गरेको छ । स्थानीय समेत रहेका श्रेष्ठलाई वडाले एक कार्यक्रम गरी भर्खरै सम्पन्न बंगबन्धु कप अन्तराष्टिय स्तरको कबड्डी खेलमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान पत्र सहित सम्मान गरिएको वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिए ।
बालमैत्री र बालश्रममुक्त वडा पनौती नगरपालिका वडा नं. ५ले आफ्नो बालमैत्री वडा घोषणाको तेस्रो वार्षिकउत्सवको अवसरमा खेलाडी रोहन श्रेष्ठको प्रमुख आतिथ्यता राखेर पनौती नगरपालिका वडा नं. ५ मा अवस्थित संस्थागत विद्यालय हाइल्याण्ड आवासीय अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत सम्पदा बतासले २०८० सालको एस.ई.ई परिक्षामा सवोत्कृष्ट अंक (जि.पि.ए. ३.८६) प्राप्त गरेको भन्दै उनलाई पनि कदरपत्रले सम्मान गरेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।
बंगलादेशको ढाकामा सोमबार सम्पन्न चौथो बंगबन्धु कप पुरुष तर्फको अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । नेपाली कबड्डी इतिहासमा पुरुष टोलीले पाएको यो सबैभन्दा ठूलो उपलब्धि थियो । उपबिजेता भएको खेलाडी टोलीमा पनौती ५ का रोहन श्रेष्ठपनि टोलीमा सहभागी थिए उनीहरु गत मंगलबार स्वदेश फर्किएका थिए ।
फाइनलमा नेपाल आयोजक बंगलादेशसँग ४५–३१ स्कोरले पराजित भएको थियो । विगतका तीनै संस्करणको उपाधि पनि बंगलादेशले जितेको थियो । प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइएको थियो । समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६७–३० ले, पोल्यान्डलाई ९३–४१ ले, दक्षिण कोरियालाई ६७–४५ र इन्डोनेसियालाई ६३–३५ ले हराएको । बंगलादेशसँग ४६–३१ ले हारेको नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । बंगलादेश विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
सेमिफाइनलमा नेपालले केन्यालाई पेनाल्टी (५ रेड) मा ९–५ ले हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो । निर्धारित समयको खेल ५०–५० को बराबरीमा टुंगिएपछि पेनाल्टीमा निर्णय भएको थियो । अर्को सेमिफाइनलमा बंगलादेशले थाइल्यान्डलाई हराएको थियो ।
उत्कृष्ट प्रदर्शन गरेका नेपालका कप्तान घनश्याम रोका मगर ५ खेलमा म्यान अफ द म्याचसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । घनश्यामले प्रत्येक म्यान अफ द म्याचका लागि १५ हजार तथा सर्वोत्कृष्ट खेलाडीका लागि ३० हजार बंगलादेशी टाका प्राप्त गरेका थिए । भारतीय प्रो लिगमा घनश्याम हरियाणा स्टिलर्समा १३ लाख भारुमा अनुबन्ध भएका थिए । प्रो लिगमा नेपाली खेलाडीमध्ये उनी सर्वाधिक पारिश्रमिक पाउने खेलाडी हुन् । घनश्यामअघि चार नेपाल खेलाडीले प्रो लिग खेलका छन् ।
नेपाली पुरुष टोली सन् २०२५ मा हुने विश्वकपका लागि छनोट भएको छ । अब नेपालसहित सेमिफाइनल पुग्ने चारै टोली विश्वकपका लागि छनोट भएका छन् ।
नेपाली टोलीमा घनश्याम रोक्का मगर (कप्तान),काभ्रे पनौतीका रोहन श्रेष्ठ, गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मिया, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा र विशाल थापा रहेका थिए ।
-
Jigyasanepal