काठमाडौँ, २०८१ कार्तिक २३ – चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार साँझ कमलादीस्थित एक सिनेमा हलमा आयोजित विशेष कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यस ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरूको प्रदर्शन देखाइएको छ, जहाँ एक्सन दृश्यहरूलाई प्राथमिकता दिइएको छ। विशेषत: भारतीय कलाकारहरूलाई प्रमुख स्थान दिइएको छ।
कार्यक्रममा फिल्मका निर्देशक चन्द्र पन्त, निर्माता र नायिका निता ढुंगाना, नायक हरिहर अधिकारी, र नायिका गरिमा शर्मा लगायतको उपस्थिति रहेको थियो। फिल्मका अन्य कलाकार रेखा थापा, विपना थापा र सञ्चिता लुइँटेल भने उपस्थित थिएनन्। भारतीय कलाकारहरू जस्तै सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, र कबिर दुहान पनि अनुपस्थित थिए, तर निर्माण पक्षले तिनीहरू प्रिमियर कार्यक्रममा उपस्थित हुने संभावना रहेको जानकारी दिएको छ।
कार्यक्रममा ढिला उपस्थित भएकी नायिका गरिमा शर्माले सडक दुर्घटनामा परेर अलमलमा परेको बताइन्। उनले दुर्घटनामा खुट्टामा चोट लागेको र त्यसकै कारण ढिला आइपुगेको स्वीकार गरिन्।
निर्माता निता ढुंगानाले फिल्मको कुल लगानी ६ करोड भएको र यसमा भारतका प्रसिद्ध कलाकारहरूको समेत सहभागिता रहेको जानकारी दिइन्। उनले भनिन्, "प्रचार र कलाकारका प्राविधिको पारिश्रमिक सबै समावेश गरेर फिल्ममा ६ करोड लगानी भएको छ।"
फिल्मका लेखक हरिहर अधिकारीले पनि फिल्मको प्रगति र सफलताको बारेमा कुरा गर्दै भने, "मैले कथा लेख्दा सोचेको भन्दा फिल्म अझ उत्कृष्ट बनेको छ।" फिल्म नेपाली, हिन्दी र तेलगु भाषामा प्रदर्शन हुने योजना रहेको छ। नेपालमा भने हिन्दी र नेपाली भाषामा यसको प्रदर्शन हुने बताइएको छ।
- Jigyasa media