काठमाडौं – प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘लाज शरणम’ को प्रचारप्रसार तत्काल रोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
रिट दायर गर्दै आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्दोजुल्दो पात्र प्रयोग गरिएको, पहिरन, हाउभाउ, शैली र लवज बिना स्वीकृति समावेश गरिएको भन्दै आपत्ति जनाएका थिए।
चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर दायर गरिएको उक्त रिटमाथि अदालतले संज्ञान लिँदै फिल्मको ट्रेलर, पोस्टर वा कुनै पनि प्रवर्द्धनात्मक सामग्री सार्वजनिक गर्न नपाइने आदेश जारी गरेको छ।
अदालतको आदेश यस्तो छ
अदालतले विज्ञप्तिमा उल्लेख गरेअनुसार, संविधान प्रदत्त अधिकार उल्लङ्घन भएको ठहर गर्दै चलचित्र जाँच समितिले अनुमति नदिइ रोक्न सक्ने अधिकार रहेको बताइएको छ। साथै, फिल्मका पात्रको प्रस्तुति निवेदकको पहिचानसँग मेल खाने देखिएकाले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रचारप्रसार नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको हो।
फिल्म प्रदर्शनमा अन्योल
जेपीटी क्रिएसनले निर्माण गरेको ‘लाज शरणम’ फागुन १४ गते शिवरात्रीका अवसरमा प्रदर्शन गर्ने तयारीमा थियो। निर्माताले बुधबार ट्रेलर सार्वजनिक गर्ने योजना बनाएका थिए। तर अदालतको आदेशपछि फिल्मको प्रचारप्रसार रोकिँदा यसको प्रदर्शनमा अन्योल देखिएको छ।
-
Jigyasanepal