काठमाडौं, माघ २२ – पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान आजदेखि देशभर सुरु भएको छ। सरकारको नेतृत्वमा सञ्चालन हुने यस अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च माविबाट बिहान ११ बजे अभियानको औपचारिक उद्घाटन गरेका छन्। फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियानमा १८ हजार विद्यालय तथा ८ हजार स्वास्थ्य संस्थालाई खोप केन्द्रका रूपमा परिचालन गरिएको छ।
कसरी प्राप्त गर्न सकिन्छ एचपीभी खोप?
– विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूले आफ्नो विद्यालयबाटै खोप लिन सक्नेछन्।
– विद्यालयमा नपढ्ने १० देखि १४ वर्षका किशोरीहरूले नजिकैको विद्यालयमा गएर खोप लगाउन पाउनेछन्।
– छुट भएका किशोरीहरूले स्वास्थ्य संस्थामार्फत पनि खोप लगाउन सक्नेछन्।
खोप सुरक्षित छ? विशेषज्ञहरू के भन्छन्?
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीका अनुसार एचपीभी खोपलाई विश्व स्वास्थ्य संगठन (WHO) ले प्रमाणित गरिसकेको छ। औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त यो खोप विश्वका १४५ भन्दा बढी देशमा प्रयोग भइसकेको छ।
स्त्रीरोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ। यसमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभी भाइरसका कारण हुने भएकाले खोपले यसको जोखिम घटाउन सहयोग गर्छ।
एचपीभी खोप किन आवश्यक?
एचपीभी खोपले न केवल पाठेघरको मुखको क्यान्सर, गुद्वार, घाँटी तथा जनेन्द्रियको क्यान्सरबाट पनि बचाउँछ। चिकित्सकका अनुसार १० देखि १४ वर्षभित्र खोप लगाएमा ९० प्रतिशतसम्म सुरक्षात्मक प्रभाव देखिन्छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार खोप सुरक्षित रहेको प्रमाणित भएकाले निर्धक्क भएर लगाउन सकिन्छ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारणहरू
– ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) संक्रमण
– कलिलो उमेरमा विवाह र सन्तान जन्माउने
– असुरक्षित यौन सम्पर्क
– अत्यधिक धूमपान तथा मद्यपान
– यौनाङ्ग सरसफाइमा कमी
नेपालमा हरेक दिन औसत ६ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन्।
खोपले संक्रमण हुनबाट कसरी बचाउँछ?
विशेषज्ञहरूका अनुसार खोपले शरीरमा भाइरस प्रवेश गर्न नदिने भएकाले क्यान्सरको जोखिम घट्छ। तर, शरीरमा पहिले नै भाइरस भइसकेको अवस्थामा भने खोपले संक्रमणमुक्त बनाउन सक्दैन।
स्वास्थ्यकर्मीहरूका अनुसार यो खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने भएकाले लक्षित किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउनुपर्छ।
एचपीभी खोप अभियान नेपालमा हालसम्मकै सबैभन्दा ठूलो खोप अभियान हो। यसले लाखौं किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन मद्दत गर्नेछ। सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको यो खोप सुरक्षित तथा प्रभावकारी भएकाले सबै अभिभावकहरूलाई आफ्ना छोरीलाई खोप लगाउन प्रेरित गर्न आग्रह गरिएको छ।
- Jigyasa media