काठमाडौं, चैत २९ — गृहमन्त्री रमेश लेखकले तीनकुने घटनालाई लिएर गम्भीर प्रश्न उठाउँदै हिंसात्मक गतिविधिबाट हिन्दूराष्ट्र स्थापना सम्भव नहुने स्पष्ट पारेका छन्।
शुक्रबार संसदीय समितिमा उक्त घटनाबारे जानकारी दिँदै उनले भने, “मान्छेलाई घरभित्रै जिउँदै पोलेर के हिन्दूराष्ट्र आउँछ? के हिन्दू धर्मले यस्तो क्रियाकलापलाई समर्थन गर्छ?”
उनले धर्मको नाममा हिंसा फैलाउने कार्य हिन्दू धर्मको शिक्षाविपरीत भएको जिकिर गरे। “हिन्दू धर्मले त अहिंसा, सहिष्णुता र करुणाको सन्देश दिन्छ। आगो लगाएर मान्छे मार्ने कुरा हिन्दू संस्कार होइन,” गृहमन्त्री लेखकले भने।
चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि निजी तथा सरकारी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। सो क्रममा पत्रकार सुरेश रजकको निजी घरमा आगो लाग्दा उनी ज्यान गुमाएका थिए। प्रदर्शनमा दुई जनाको मृत्युसमेत भएको थियो।
गृहमन्त्री लेखकले हिंसाको नाममा जनतालाई उक्साउने गतिविधि कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीमाथि कडा कारबाहीको चेतावनी पनि दिए।
- Jigyasa media