काठमाडौं, साउन १२ । देशका अधिकांश भागमा मनसुनी वर्षा जारी छ। सोमबार बिहान ६ बजेको अवस्थासम्म सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, लुम्बिनी र कर्णालीका थोरै भूभाग, तथा मधेस र सुदूरपश्चिमका एक-दुई स्थानमा वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकासहित बागमतीका अधिकांश भूभागमा विगत केही घण्टादेखि वर्षा भइरहेको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौं उपत्यकामा आज विहान केही स्थानमा पानी रोकिए पनि दिउँसो फेरि वर्षा हुने सम्भावना उच्च छ।
दिउँसो–अपराह्न: भारी वर्षाको संकेत
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रहने उल्लेख गर्दै गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई पहाडी स्थानमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ।
तराई भूभागमा भने थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा देखिने सम्भावना छ। मौसमविद्का अनुसार दिउँसोदेखि बेलुकासम्म देशका अधिकांश भागमा आंशिक बदलीसहित असिनासमेत पर्ने अवस्था हुन सक्नेछ।
राति पनि बदली यथावत्
महाशाखाका अनुसार आज राति पनि देशभर सामान्य बदली हुनेछ। विशेष गरी गण्डकी प्रदेशसहितका पहाडी भूभाग तथा तराईका केही थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना कायमै छ।
कुन कति प्रकारको वर्षा?
महाशाखाले दिएको वैज्ञानिक परिभाषाअनुसार:
१० मिमीभन्दा कम : हल्का वर्षा
१०–५० मिमी : मध्यम वर्षा
५०–१०० मिमी : भारी वर्षा
१००–२०० मिमी : धेरै भारी वर्षा
२०० मिमीभन्दा बढी : अति भारी वर्षा
स्थान र क्षेत्रफलको आधारमा वर्षाको परिभाषा
महाशाखाका अनुसार वर्षा हुने स्थानको अनुमान यसरी वर्गीकृत गरिन्छ:
एक-दुई स्थानमा : प्रदेशको १०% भन्दा कम क्षेत्रमा वर्षा
थोरै स्थानमा : १०%–३०% क्षेत्रफल
केही स्थानमा : ३०%–५०%
धेरै स्थानमा : ५०%–८०%
अधिकांश स्थानमा : ८०% भन्दा माथि
सर्वसाधारणलाई सतर्कता
मौसमविद्हरूले पहाडी क्षेत्रका बासिन्दा, यात्रु, कृषक र विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा पानीको निकास अबरुद्ध हुन नदिन सर्तक रहन आग्रह गरेका छन्। बाढी, पहिरो र चट्याङको जोखिम बढ्ने भएकाले स्थानीय तह, विद्यालय र प्रशासनलाई सतर्क रहन भनिएको छ।
-
Jigyasanepal