चैत २४, अर्घाखाँची —
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ अन्तर्गत ढुंगाडे नजिकैको भीत्रि सडकमा आइतबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जीप अनियन्त्रित भई करिब २५० मिटर तल खस्दा गम्भीर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, गाडी दुर्घटनाको खबर पाएपछि प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो।
दुर्घटनामा गम्भीर घाइते चालक दिलीप खनाल र यात्रु बालकृष्ण रिजालको सन्धिखर्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरिएको छ। उनीहरूलाई बिहानै अस्पताल लगिएको भए पनि चिकित्सकले ५:५५ बजे मृत घोषणा गरेका थिए।
घाइते अवस्थामा रहेका अन्य दुई यात्रु भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण तत्काल खुल्न नसके पनि सडकको भौगोलिक बनावट र सम्भावित ब्रेक फेल जस्ता कारणले दुर्घटना हुन सक्ने अनुमान गरिएको छ। यथार्थ विवरणको लागि अनुसन्धान भइरहेको जनाइएको छ।
- Jigyasa media