काभ्रे । बनेपा नगरपालिका–७ अरनिको पार्टी प्यालेस अगाडिबाट चोरी भएको मोटरसाइकल प्रहरीले तीन दिनमै पनौतीबाट बरामद गरेको छ। घटनामा संलग्न दुई युवालाई समेत प्रहरीले पक्राउ गरेको हो।
२०८२ साउन १९ गते बेलुकी ८:३० बजे विष्णु बहादुर सार्कीले सडक छेउमा पार्किङ गरेर राखेको रातो रंगको २०० सीसी क्षमताको ‘एनएस’ मोटरसाइकल (बा ९६ प २१७१, इन्जिन नं. JGCJB 34281, च्यासिस नं. MD2A36FY1JCB 36422) अज्ञात व्यक्तिले चोरी गरेका थिए।
घटनापछि प्रहरीले खोजतलासको क्रममा मोटरसाइकल पनौती नगरपालिका–२ जरंगे डाँडामा लुकाइ–छिपाइ राखिएको सूचनाका आधारमा साउन २२ गते बिहान ६ बजे छापा मारेको थियो। त्यहाँबाट वविक तामाङ (२०), पनौती–२, र नरिन विश्वकर्मा (१९), बनेपा–९ बसोबासीलाई पक्राउ गरी चोरीमा प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको काभ्रे प्रहरीले जनाएको छ।
बरामद गरिएको मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी प्रमाणको रूपमा सुरक्षित गरिएको छ। दुवै अभियुक्तलाई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
Jigyasanepal