काठमाडौं, भदौ ११, २०८२
रौतहटको माधवनारायण नगरपालिका–२ मुडबलवाकी रुवीकुमारी साहको हत्या प्रकरणमा संलग्न मुख्य आरोपीले आफैंलाई आगो लगाएका छन्। प्रहरीको खोजतलासपछि उनलाई घाइते अवस्थामा पक्राउ गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीका अनुसार पक्राउ पर्ने व्यक्ति माधवनारायण नगरपालिका–६ का लक्ष्मण पासवान हुन्।
“बुधबार बिहान आफ्नै घर नजिकै माधोपुरस्थित नहरको बाटोमा उनले शरीरमा आगो लगाएको अवस्थामा फेला पारिएको हो,” डिएसपी कार्कीले भने, “घाइते अवस्थामा पक्राउ गरेर तत्काल उपचारका लागि अस्पताल लगिएको छ।”
गत शनिबार राति रुवी साहको शव गौर नगरपालिका–९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसभित्र फेला परेको थियो। अनुसन्धानका क्रममा पासवानले शव फाल्न ई–रिक्सा भाडामा लिएको र गन्तव्यतर्फ जाँदै गर्दा रिक्सामा समस्या आएपछि हतारमा शव सडक छेउमै फालेर फरार भएको खुलेको प्रहरीको भनाइ छ।
यसअघि सो घटनामा प्रयोग भएको ई–रिक्साका चालक, गौरका लक्ष्मण महरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पासवान केही समयअघि मात्र मलेसियाबाट नेपाल फर्किएको समेत पुष्टि गरेको छ। अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।
-
Jigyasanepal