Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काठमाडौं महानगरपालिकाद्वारा श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना

  •   २ वर्ष अघि | १३ भदौ २०८१, बिहिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरपालिकाका निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए अनुसार, तेलको गुणस्तरमा गम्भीर कमी देखिएपछि कारवाही गरिएको हो।

गुनासो आएपछि असार ७ गते महानगरपालिकाले तेलको कच्चा पदार्थ, उत्पादन प्रक्रिया, र आवश्यक दस्तावेज माग गरेको थियो। प्राप्त विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनले तेलको गुणस्तर पुष्टि गर्न नसकेपछि कारवाही गरिएको झाको भनाइ छ।


प्रतिवेदनले देखाएको मुख्य समस्याहरूमा निम्न छन्:

- कच्चा पदार्थको समिश्रणको विधि: इण्डष्ट्रीले तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) स्पष्ट रूपमा प्रस्तुत गर्न असफल भएको थियो। साथै, स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख पनि पाइएन। यसलाई गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) विपरीत मानिएको छ।

- लेबल र प्रमाणीकरण: तेलको लेबलमा उल्लेख भएका तत्व र परिमाणको सरकारी वा अन्य प्रमाणित निकायबाट पुष्टि हुने कागजात प्राप्त भएन। लेबलमा दावी गरिएका फाइदाहरू, जस्तै कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि, कुनै क्लिनिकल ट्रायल वा प्रयोगशाला विश्लेषणबाट पुष्टि नभएको देखियो।

- प्रयोगशाला प्रतिवेदन: इण्डष्ट्रीले उपलब्ध गराएको प्रयोगशाला प्रतिवेदनमा क्रमिक रूपमा सुक्ष्म जीवाणु परिमाण (माइक्रो बायोलोजिकल लोड, टोटल प्लेट काउन्ट) बढ्दै गएको देखियो। तेलको उत्पादनमा प्रयोग भएको 'मिनोक्साइडिल' को प्रमाण पनि प्रतिवेदनमा थिएन। साथै, कच्चा पदार्थको समिश्रणले मानव स्वास्थ्यमा असर नपर्ने वैज्ञानिक पुष्टि गर्ने कुनै पनि विश्लेषण प्रतिवेदन उपलब्ध गराइएको थिएन।

- उपभोग्य अवधि र जडीबुटीको मात्रा:तेलको उपभोग्य अवधि (३ वर्ष) के आधारमा राखिएको भन्ने स्पष्ट दस्तावेज प्राप्त भएन। तेलमा प्रयोग गरिएका जडीबुटीहरूको मात्रा यकिन गर्ने गुणस्तरीय विधि र कुनै परीक्षण प्रतिवेदन पनि उपलब्ध गराइएको थिएन।

यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा प्रतिवेदन पठाउने निर्णय गरेको छ।

  • Jigyasa media

थप