Breaking News
बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||    

झापामा हात्तीको आक्रमण: १४ वर्षमा ६४ जनाको मृत्यु, समाधान अझै चुनौतीपूर्ण

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, झापा । झापा जिल्लामा जंगली हात्तीको आक्रमणबाट पछिल्लो १४ वर्षमा ६४ जनाले ज्यान गुमाएका छन्। गत फागुनमा हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराई हात्तीको आक्रमणमा परी मृत फेला परेका थिए, भने पुसमा कचनकवल–७ की कैलावती राजवंशीले ज्यान गुमाएकी थिइन्।

यस आर्थिक वर्षमा मात्र हात्तीको आक्रमणबाट चारजनाको ज्यान गएको छ। झापा डिभिजन वन कार्यालयका पशु चिकित्सक सोनाम भालका अनुसार सोही अवधिमा विदेशी नागरिक आठजनाले समेत हात्तीको आक्रमणमा परी मृत्यु भएको छ।

वन्यजन्तु र मानवबीच द्वन्द्व तीव्र

डिभिजन वन कार्यालयका तथ्यांक अनुसार, २०६२ सालदेखि हालसम्म झापामा २२ वटा जंगली हात्ती मरेका छन्। वन्यजन्तुका प्राकृतिक आवास क्षेत्र संकुचित हुँदै जाँदा मानव–हात्ती द्वन्द्व झनै बढ्दै गएको छ।

पशु चिकित्सक भालका अनुसार, हात्तीको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रूपमा कठिन छ। हाल दीर्घकालीन समाधान खोज्न नसकिएको तर तत्काल जनचेतना अभिवृद्धि गर्न सकिए मात्र द्वन्द्व न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

राहत वितरण तर दीर्घकालीन योजना अझै अपूर्ण

चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट पीडित ५१० जनालाई राहत वितरण गरिएको छ।

दुई जना घाइतेलाई रु २,६१,१२०

१४८ घरपरिवारलाई घर–गोठ क्षतिको रु २३ लाख

१२७ परिवारलाई भण्डारण गरिएको अन्न क्षतिको रु ९,७९,०४५

३७१ परिवारलाई अन्नबाली क्षतिको रु ३४,५३,४०० राहत प्रदान गरिएको छ।

यस अतिरिक्त, मन्त्रालयबाट चार मृतकका परिवारलाई जनही १० लाख का दरले ४० लाख तथा ३३ जना पीडितलाई रु ५२,९९,९२८ राहत वितरण गरिएको छ।

राहत मापदण्ड

मृतकका परिवारलाई रु १० लाख

घाइतेलाई अवस्था हेरी रु २ लाखसम्म

जीवनभर अशक्त भएकालाई रु ५ लाखसम्म

अन्नबाली तथा भण्डारण क्षतिका लागि अधिकतम रु १० हजार

घर–गोठ भत्किएमा अधिकतम २० हजार राहत प्रदान गरिँदै आएको छ।

समाधान खोज्ने प्रयास जारी 

झापा डिभिजन वन कार्यालयका अनुसार मानव क्षति बढ्दो भए पनि हाल दीर्घकालीन समाधान निकाल्न चुनौती रहेको छ। जनचेतना अभिवृद्धि, उचित राहत व्यवस्थापन तथा प्रभावकारी वन व्यवस्थापनमा जोड दिइरहेको वन कार्यालयले जनाएको छ।

हात्ती र मानवबीचको यो बढ्दो द्वन्द्व समाधान गर्न नीतिगत योजनाहरू प्रभावकारी रूपमा लागू गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।


  • Jigyasa media

थप