काठमाडौं। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई अस्थायी रूपमा रोक्न तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। पुटिनको कार्यालयका अनुसार यो युद्धविराम ८ मेको बिहानदेखि ११ मेसम्म लागू हुनेछ।
युक्रेनले भने रूसी प्रस्तावलाई पर्याप्त मानेको छैन। युक्रेनी विदेशमन्त्री एन्ड्रिज सिबिहाले बीबीसीसँग प्रतिक्रिया दिँदै कम्तीमा ३० दिनको स्थायी युद्धविरामको माग गरेका छन्। उनका अनुसार यदि रुस शान्ति स्थापनामा इमानदार छ भने मे ८ सम्म कुर्नु नपर्ने, बरु तुरुन्तै दीर्घकालीन युद्धविराम घोषणा गर्नुपर्ने हो।
युद्धविराम प्रयासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सक्रिय भएका छन्। ट्रम्प स्थायी शान्तिको पहल गरिरहेको ह्वाइट हाउसले जनाएको छ।
यो पहिलो पटक होइन, रुसले यसअघि पनि इस्टर पर्वका अवसरमा ३० घण्टाका लागि युद्धविराम घोषणा गरेको थियो। यद्यपि, युक्रेनमा विगतमा भएका २० भन्दा बढी युद्धविराम प्रयासहरू प्रायः विफल भएका छन्।
रुसका राष्ट्रपति पुटिनले सोमबार जारी गरेको विज्ञप्तिमा यो कदम मानवीय आधारमा उठाइएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “युक्रेनी पक्षले पनि रुसको कदमको अनुसरण गरोस्। यदि युक्रेनी पक्षले युद्धविराम उल्लंघन गरेमा रूसी सेनाले उपयुक्त र प्रभावकारी प्रतिक्रिया दिनेछ।”
त्यसैगरी, रुसले युक्रेनी संकट समाधानका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग बिना कुनै पूर्वसर्त वार्तामा बस्न तयार रहेको पनि जनाएको छ।
यता युक्रेनले भने युद्धविरामलाई साँचो अर्थमा स्थायी र विश्वसनीय बनाउन जोड दिएको छ। विदेशमन्त्री सिबिहाले भनेका छन्, "हामी तात्कालिक होइन, दीर्घकालीन, टिकाउ र पूर्ण युद्धविराम चाहन्छौं।"
बीबीसी
-
Jigyasanepal