काठमाण्डौ ।
काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ५८ राउण्ड गोली प्रहार गरेको खुलेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार भीडलाई तितरबितर गर्न ७४६ राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो।
स्रोतका अनुसार, पेस्तोलबाट २ राउण्ड गोली चलेको थियो भने केवल आवाज मात्र आउने ब्याङ्क (ब्ल्याङ्क फायर) १९२ राउण्ड प्रहार गरिएको थियो। भीड नियन्त्रणका लागि २४ लाठी, ३३ शिल्ड, २३९ कार्टिज र हेल्मेट प्रयोग गरिएको प्रहरीको भनाइ छ।
यस घटनामा ५५ जना नेपाल प्रहरी घाइते भएका थिए, जसमा सबै उपचारपछि डिस्चार्ज भइसकेका छन्। यस्तै, २२ जना सशस्त्र प्रहरी घाइते भएका थिए, जसमध्ये १ जना अझै उपचाररत छन् भने अन्यको उपचार पूरा भइसकेको छ।
प्रदर्शनका क्रममा ५२ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये १७ जनाको अस्पतालमा उपचार जारी छ। घटनापछि १२६ जनालाई नियन्त्रणमा लिइएकोमा ८५ जना रिहा भइसकेका छन् भने ४१ जनामाथि अदालतको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
चैत १५ गते भएको सो प्रदर्शनमा राजावादी समूहले व्यवस्था परिवर्तनको माग गर्दै सडकमा उत्रिएका थिए। प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए, जो हाल फरार छन्। सो प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको पनि संलग्नता रहेको जनाइएको छ। हाल उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
सोमबार पक्राउ परेकाहरूलाई बुधबार अदालतमा पेश गरिने बताइएको छ।
- Jigyasa media