Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सरकारको योजना: ३८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

काठमाडौं – दसैँको तयारीसँगै सरकारले ३८५६ किलोमिटर सडकलाई खाल्डोरहित बनाउन लक्षित योजना अघि सारेको छ। दसैँका लागि काठमाडौं छोड्नेहरूको संख्यामा उल्लेखनीय वृद्धि हुने अनुमानसँगै, सडक मर्मतमा तीव्रता दिन सरकारले विशेष कदम चालेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँको समयमा १५ देखि १८ लाख मानिस काठमाडौं छोड्ने अनुमान गरेको छ, जसका लागि ५ हजारदेखि ६ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएका छन्। अग्रिम टिकटको व्यवस्था १२ असोजदेखि सुरु हुनेछ।

तर लाखौँ मानिसको आवतजावतलाई सहज बनाउन सडकको अवस्था अझै चुनौतीपूर्ण देखिन्छ। विभिन्न ठाउँमा सडक स्तरोन्नतिको काम जारी रहे पनि दसैँसम्म सम्पूर्ण कार्य सम्पन्न हुनेमा शङ्का व्यक्त गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँअघि नै खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन्। मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालका अनुसार, हालसम्म ७७२ किलोमिटर सडकमा मर्मत सम्पन्न भएको छ। बाँकी सडक मर्मतको काम पनि दसैँअघि पूरा गर्न प्रयास भइरहेको छ।

नागढुङ्गा सडकखण्ड जस्ता प्रमुख मार्गहरूमा सडक मर्मत कार्य जारी रहे पनि ती परियोजनाहरू दसैँअघि सम्पन्न नहुने सम्भावना छ। नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण सडक थप भत्किएका छन्, जसले गर्दा यात्रामा केही असहजता उत्पन्न हुनसक्छ।

सरकारले चालु आर्थिक वर्षमा छ अर्ब बजेट सडक मर्मतका लागि छुट्याएको छ। यस अन्तर्गत, सडक विभागले ७२६० किलोमिटर सडक मर्मत गर्ने योजना बनाएको छ। अहिले पनि मुलुकभर १८ हजार ९७ किलोमिटर सडक विभागको मातहतमा छन्।

सडक सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न सम्बद्ध निकायहरूसँगको समन्वयमा काम भइरहेको छ। दसैँको समयमा आवागमनको चाप, दुर्घटनाको जोखिम, र सडकको कमजोर अवस्थालाई ध्यानमा राख्दै एकीकृत सुरक्षा योजना तयार गरिएको छ।

सडक विशेषज्ञहरूले गुणस्तरीय निर्माण र भौगोलिक अवस्थाको राम्रो अध्ययनमा जोड दिएका छन्। पूर्वाधारविद् राजेन्द्रराज शर्माका अनुसार, गुणस्तरमा ध्यान नदिँदा र अन्तरनिकाय समन्वयको अभावले यात्रुले बर्सेनि समस्या भोग्नुपरेको छ।

ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैँको भीडलाई सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी योजना बनाइरहेको बताएका छन्। यात्रुहरूको सुरक्षाका लागि यसपालि ट्राफिक प्रहरीले कडाइ गरिनेजानकारी दिएको छ।


  • RSS

थप