काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शुक्रबार) अमेरिकाविरुद्ध मैदान उत्रँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा नेपाल दोस्रो पटक अमेरिकालाई हराउँदै सिरिज सुखद अन्त्य गर्ने योजनामा रहेको छ।
घरेलु मैदानमा उत्कृष्ट लयमा देखिएको नेपालले यसअघि अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो। सोही प्रदर्शन दोहोर्याउने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रन लागेको हो। अमेरिकाविरुद्ध पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई मात्र १९५ रनमा समेटेको थियो।
अमेरिकी टोली भने नेपाललाई घरेलु मैदानमै पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता थप मजबुत बनाउन चाहन्छ। जारी सिरिजमा अमेरिकाले हालसम्म २ अंक मात्र जोडेको छ भने स्कटल्यान्डले ४ अंकसहित आफ्नो खेल सकाइसकेको छ।
नेपालले भने जारी सिरिजमा ४ अंक बटुलिसकेको छ। यस खेलमा जित निकाले नेपालले ६ अंकसहित सिरिज समाप्त गर्नेछ। यसअघि यूएई र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा पनि नेपालले ६ अंक बटुलेको थियो।
मुख्य प्रशिक्षक Stuart Law ले अमेरिकाविरुद्ध जित निकालेको टोलीलाई नै स्कटल्यान्डविरुद्ध निरन्तरता दिएका थिए। स्कटल्यान्डमाथि ६ विकेटको प्रभावशाली जित निकालेपछि प्रशिक्षकले अमेरिकाविरुद्ध पनि सोही टोलीलाई मैदान उतार्ने सम्भावना बलियो देखिएको छ।
नेपालले सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनको हार बेहोरे पनि दोस्रो भेटमा उत्कृष्ट पुनरागमन गर्दै ६ विकेटको जित निकालेको थियो। अमेरिकासँगको पहिलो खेलमा भने नेपालले एकतर्फी रूपमा ९ विकेटको शानदार जित हात पारेको थियो।
अंक तालिकामा नेपालको सुधार
जारी सिरिजमा ४ अंक जोड्दै नेपाल पाँचौँ स्थानमा उक्लिएको छ। घरेलु मैदानमा भएको सिरिजबाट नेपालले कुल १० अंक बटुलिसकेको छ। नेपाल र नामिबियाको समान २२ अंक भए पनि नेट रनरेटमा अघि रहँदै नेपाल पाँचौँ स्थानमा पुगेको हो।
नेपालले लिग–२ मा हालसम्म २७ खेल खेल्दा १० जित, १५ हार र २ खेलमा अंक बाँड्दै २२ अंक बनाएको छ। नेपालको मुख्य लक्ष्य शीर्ष चारभित्र रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु र विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनु हो।
तालिकामा नेदरल्यान्ड्स २८ अंकसहित चौथो, ओमान ३१ अंकसहित तेस्रो तथा समान ३८ अंक भए पनि नेट रनरेटका आधारमा अमेरिका शीर्ष र स्कटल्यान्ड दोस्रो स्थानमा छन्।
नेपाली टोली
नेपालले अमेरिकाविरुद्ध कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, Sandeep Lamichhane, ललित राजवंशी, करण केसी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की सम्मिलित टोली उतार्ने सम्भावना छ।
-
Jigyasanepal