काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र थुनुवाको मृत्यु भएको घटनाले गम्भीर मोड लिएको छ। घटनाको छानबिनपछि प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरिएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले दिएको जानकारीअनुसार कारबाही सिफारिस हुनेमा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीसमेत रहेका छन्। घटनाको अनुसन्धानका लागि प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्य नेतृत्वमा गठन गरिएको छानबिन समितिले प्रतिवेदन बुझाउँदै विभिन्न तहका प्रहरीमाथि विभागीय कारबाही गर्न सुझाव दिएको हो।
खुर्कोट हिरासतमा रहेका सिन्धुलीकै सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको हिरासतभित्रै मृत्यु भएपछि घटनाले व्यापक चासो र प्रश्न जन्माएको थियो। मानवअधिकार र हिरासत सुरक्षामाथि गम्भीर बहस भइरहेका बेला सार्वजनिक भएको समितिको प्रतिवेदनले प्रहरी संयन्त्रभित्रको लापरबाही औँल्याएको छ।
समितिको सिफारिसअनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, एक जनालाई नसिहत दिने तथा एक जनाको ग्रेड घटुवा गर्न सुझाव दिइएको छ।
छानबिन समितिले हिरासत व्यवस्थापनमा देखिएको कमजोरी सुधार गर्न विस्तृत सुझावसमेत दिएको छ। हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राख्न, ‘हिरासत व्यवस्थापन कार्य निर्देशन–२०८१’ पूर्ण रूपमा कार्यान्वयन गर्न र ड्युटीका समयमा प्रहरीलाई अन्य काममा नलगाउन समितिले जोड दिएको छ।
त्यसैगरी हिरासतभित्र हुने कुनै पनि असामान्य गतिविधि तत्काल रिपोर्ट गर्ने प्रणाली अनिवार्य लागू गर्नुपर्ने सुझाव दिइएको छ। विशेषगरी अन्तरजातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव निम्त्याउन सक्ने घटनामा कार्यालय प्रमुख स्वयंको प्रत्यक्ष निगरानी र सक्रिय भूमिका आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
समितिले जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापनजस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण र सुपरीवेक्षण प्रभावकारी बनाउन सुझाव दिएको छ। साथै मुद्दा अनुसन्धान, सूचना व्यवस्थापन, जनशक्ति परिचालन तथा प्रहरी इकाइहरूको आवधिक मूल्याङ्कनलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
यसैबीच घटनामा जोडिएका एसपी लालध्वज सुवेदीको भने सिन्धुलीबाट सरुवा भइसकेको प्रहरीले जनाएको छ। हिरासतभित्र भएको थुनुवा मृत्यु प्रकरणले प्रहरी संगठनभित्रको जिम्मेवारी, निगरानी र मानवअधिकार पालनाको अवस्थामाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ।
-
Jigyasanepal