Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

साल्धाराको रेशम दर्लामी ..!

  •   २ वर्ष अघि | १५ मंसिर २०८१, शनिबार

कविताः 

✍🏼तिब्बत दर्लामी (ज्यानमाइला काभ्रेली)

रोकेन घरको संघार र बार्दलीहरुले 

रोकेन आंगन र साँघुरो गोरेटोहरुले 

गोठबाट एकोहोरो हेरिरह्यो माली गाइ र झिल्के गोरुले

खोरबाट म्याम्या गर्दै थियो मट्याङ्ग्री बाखाको पठ्याङ्ग्राहरुले । 

मन्द हावाको लहरसंगै बारीको छेउबाट सुस्केरा हाल्यो 

कटमेरो रुख, टाँकी र काभ्राकोे बोटहरुले । 

सालको रुखमा रोइरह्यो जोडी ढुकुर, कोइली र चिबे चराहरु ।


आमाको ममता आँखाबाट झरिरह्यो 

अलि परैबाट बुढो बा खुइया मार्दै थियो 

प्राणप्यारीको चोलीसम्म खसेको अश्रुधाराले 

बिछोडको पाइलाहरु रोक्न सकेन 

छोराको कलिलो मलिनो अनुहारले पनि 

रोक्न सकेन । 

बिदाइको साइत छोप्ने कचौराको दही सुरुप्प पादै 

सगुनको रक्सीलाई आकाशतिर छर्किदै

सिलौटामा थेच्याएको मुला जस्तै 

छियाछिया भएको मुटुलाई सुमसुम्याउदै सम्हाल्दै गयो  

बुढा बाआमाप्रति छोराको कर्तब्य बोकेर गयो

आफ्नो छोराछोरीको उल्यालो भविश्यको जिम्मेदारी बोकेर गयो

श्रीमतीलाई खुसीको सुनौलो संसार दिने बाचाहरु बोकेर गयो

गयो, देश छोडेर परदेश गयोे साल्धाराको रेशम दर्लामी ।


देउरालीमा टिपेको फूलपाती नारानथानलाई चढाएर 

मनैमनले पुकार्यो – रक्षा गर्नुहोस् है भगवान

यो यात्रा सफल पार्नुहोस् ।

मनैमनले सम्झ्यो घरको कुल कुल्यानलाई 

सम्झ्यो गाउ नजिकैको महादेउ थानलाई 

सम्झ्यो थुम्की डाँडाको माइथानलाई पनि 

दक्षिणकालीलाई सम्झ्यो र बाचा गर्यो 

–फर्की आएँ भने कालो बोका चढाउछु है!


गेल्डुङ पनौती बनेपा देखि सांगाभन्ज्याङ काट्नु पहिले 

बाडुल्की लाग्ने गरि सम्झ्यो

गाउ देखि ठाउँसम्म्मको नेताहरुलाई  

अवस्था बदल्छु भन्ने

राजतन्त्र देखि गणतन्त्रसम्मको ब्यवस्थालाई सम्झ्यो 

समाजबाद, साम्यवाद देखि जनवादसम्मलाई सम्झ्यो

नागरिकता बाहेक केही दिन नसकेको 

निरिह राज्यलाई सम्झ्यो 

र धन्यावाद भन्यो 

कम्तिमा एयरपोर्ट ढोका खुल्ला गरेको छ सरकारले ।


त्रिभुवन विमानस्थलमा 

देश छोड्नेहरुको भिडमा मिसियो उ पनि

चन्द्र सुर्य झण्डा छातीमा टाँसेर ढोग्यो धरतीमातालाई 

कतार एयरले भुइ छोड्नुअघि 

एकपटक सम्झ्योः डांडापारि कुस्पा गाउँलाई 

सम्झ्यो जनबिकास माबीको दौतरीहरुलाई 

सम्झ्यो खानीखोलाको बुदुना माछालाई 

सम्झ्यो खोरभन्ज्याङको सोल्टिनीहरुलाई 

दोभान जात्रामा जुहारी गाउने 

बेतिनीको मोइच्याङहरुलाई पनि सम्झयो 

सम्झ्यो बिर्सन लागेको भुतपूर्व प्रियसीलाई पनि ।


उटहरुको मरुमुभी देशमा 

तातो घाम तातो हावा र तातो मेसिनहरुसंग 

घोटिदा घोटिदा बचेको अलिकति फुर्सदमा 

कहिले एस्पायर पार्कको टच टावरहरुमा 

कहिले कोर्निच र मुन टावरहरुमा 

सेल्फी खिच्दै टिकटकमा देश सम्झिदै गरेको 

चिम्सो आँखा नेप्टे नाक खिरिलो ज्यान 

र हंसिलो मुहार भएको  

रेशम दर्लामीलाई भेट्यो भने 

घरदेशको हुन नसकेको 

परदेशको पनि हुन नसकेको 

भिरमा फलेको फर्सी जस्तो यो ज्यानमाइलाले 

उस्को कविता

लेखेको भनिदिनोस् न है ! 


उक्त कविता कवि तथा लेखक स्वयम्  दर्लामीको आवाजमा सुन्न र हेर्न सक्नुहुनेछ ।

-----------------------------------------------------------------------------





  • Jigyasa media

थप