काठमाडौं, चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ताले सुधारको बाटो नअँगाले कडा आन्दोलनको संकेत दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले बालुवाटार घेर्ने चेतावनी दिएका हुन्।
उनले भने, “म फेरि भन्छु, गोली चलाउने कुरा होइन, तर यदि सरकारले नसुने हामी बालुवाटार घेर्न सक्छौं, भात पानी नै बन्द गरिदिन सक्छौं।” उनले आन्दोलनको शैली शान्तिपूर्ण हुने स्पष्ट गरे पनि त्यसको प्रभाव गम्भीर हुन सक्ने संकेत दिएका थिए।
सूचना प्रविधिको विकाससँगै अब जनताले अँध्यारोमा बस्न नसक्ने उल्लेख गर्दै उनले भने, “अबका जनता मूर्ख छैनन्, सूचना कसैले मुठ्ठीमा राख्न सक्दैन।”
लिङ्देनले विरोधको स्वरुपलाई लिएर पनि प्रष्ट पारे। “यदि विद्रोहमा जानुपर्छ भने सल्लाह गरेरै जान्छौं, झुक्याएर होइन,” उनले भने।
सरकारको रवैयाप्रति असन्तुष्टि जनाउँदै लिङ्देनले अबको आन्दोलन संगठित र योजनाबद्ध हुने जनाए।
- Jigyasa media