काभ्रे । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत काभ्रेका दुई स्थानीय तहमा नगर सभापति सर्वसम्मत चयन भएका छन्। पनौती नगरपालिकामा विनोद खत्री र मण्डनदेउपुर नगरपालिकामा राजकुमार मल्ल नगर सभापतिमा सर्वसम्मत चयन भएका हुन्।
पनौती नगर अधिवेशनबाट खत्रीलाई नगर सभापतिको जिम्मेवारी दिइएको हो। सर्वसम्मत चयनपछि खत्रीले पार्टीका अग्रज नेताहरू, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, शुभेच्छुक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्।
खत्रीले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई सम्मानभन्दा बढी विश्वास र चुनौतीका रूपमा लिएको बताएका छन्। पार्टीको विधि, विधान, केन्द्रीय निर्देशन र जनभावनालाई प्राथमिकतामा राख्दै संगठनलाई एकताबद्ध, अनुशासित, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
त्यस्तै, मण्डनदेउपुर नगरपालिकामा राजकुमार मल्ल नगर सभापतिमा सर्वसम्मत चयन भएका छन्। असोज २२ गते कुन्ताबेशीस्थित सीआरबी पार्टी प्यालेसमा सम्पन्न नगर अधिवेशनबाट मल्ललाई नगर सभापतिको जिम्मेवारी दिइएको हो।
मल्लले आफूलाई सर्वसम्मत चयन गर्न सहयोग गर्ने नगर संयोजक शान्ति प्रसाद पौडेलसहित अग्रज नेता, अनुज तथा तरुण नेता, वडा सभापति, क्षेत्रीय प्रतिनिधि र सम्पूर्ण कांग्रेसजनप्रति धन्यवाद व्यक्त गरेका छन्।
मल्लले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पार्टीको विधि, विधान, केन्द्रीय निर्देशन र जनभावनालाई आत्मसात् गर्दै संगठनलाई एकताबद्ध, अनुशासित र जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन्।
उनले विचार र दृष्टिकोणमा विविधता भए पनि संगठनभित्र एकता कायम गर्दै सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन्। आफूलाई प्राप्त विश्वासलाई कर्म र परिणामबाट प्रमाणित गर्ने उनको भनाइ छ।
दुवै नगर सभापतिले संगठनलाई थप सुदृढ र गतिशील बनाउँदै नागरिकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचितद्वय शेर बहादुर देउवा इतरका हुन ।
-
Jigyasanepal