धुलिखेल, काभ्रे । पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले कानूनी राज्यमा अराजक गतिविधि सह्य नहुने बताएका छन्।
धुलिखेलमा आयोजित संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको वृहद् जागरण सभामा सम्बोधन गर्दै बास्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई अन्तिम रुपले विलय गर्नुपर्ने बताए। उनले भने, "एक दिन प्रदर्शन गर्न छुट दिएपछि सञ्चारकर्मी जिउँदै जलाइए, निर्दोष नागरिकका घरहरू जलाइए। सरकारले अब खुट्टा नकामाई कानूनी कारबाही गर्नुपर्छ। जनता सरकारको पक्षमा छन्।"
‘प्रतिगमनको खतरा साँचो साबित भयो’
बास्कोटाले १८ वर्षअघि जननेता मदन भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रतिगमनको खतरा भनेको स्मरण गराउँदै भने, "मदन भण्डारीको दुरदर्शिता अहिले प्रमाणित भएको छ। ज्ञानेन्द्र शाह निरंकुश राजतन्त्रको अवशेष हुन्। उनका भिजिलान्तेहरूद्वारा गरिएका अन्याय, अत्याचार, छोरीचेलीको जीवन बर्बाद बनाएका घटनाहरू इतिहासको कालो पन्ना हुन्।"
उनले चेतावनी दिँदै भने, "मयूरको प्वाँख टाउकोमा राजमुकुट बनेर सदैव रहन सक्दैन। पृथ्वीनारायण शाहको वंशज हुनु मात्रका आधारमा जनता प्रत्येक तस्कर र हत्यारालाई राजा मान्न तयार हुँदैनन्।"
राजतन्त्र फर्कने सपना नदेख्न चेतावनी
पूर्वराजालाई चेतावनी दिँदै बास्कोटाले भने, "पञ्चायती प्रेतात्मा चिहानमा गाडिइसकेको छ। जनताले बोल्न, लेख्न र सभा गर्न नपाएको कालो इतिहास उनीहरूले बिर्सेका छैनन्। गंगा उल्टो बग्दैन, जहिले पनि सुल्टो बग्छ। अब राजतन्त्र फर्कने कल्पनासम्म नगर्नू।"
उनले पूर्वराजा शाहलाई लक्षित गर्दै भने, "पितृ बन्न लागेका मान्छे उचालेर राजतन्त्र फर्काउन खोज्नु गलत हो। राज्यले पूर्वराजाका हैसियतमा दिएको कुनै पनि सुविधा खोस्नुपर्छ।"
बास्कोटाले कानूनी शासन, लोकतान्त्रिक मूल्य–मान्यता र गणतन्त्रको रक्षा गर्न सबै नागरिकलाई सचेत हुन आग्रह गरे।
- Jigyasa media