काठमाडौं, मंसिर २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश सञ्चालन सजिलो काम नभएको बताएका छन्। झापामा निर्माण भएको दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहमा बोल्दै उनले यो धारणा राखेका हुन्।
प्रधानमन्त्री ओलीले देशलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सिद्धान्त, नीति, दृढ संकल्प, र अठोटको आवश्यकता पर्ने उल्लेख गरे। उनले भने, "कोही भ्रममा नपरून्। देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, र अठोट चाहिन्छ।"
उनको यो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित रहेको बुझिएको छ। लामिछाने हाल सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा छन्।
प्रधानमन्त्रीले थपे, "सहकारी ठग्नेजस्तो सजिलो हुँदैन देश चलाउन। अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो पनि हुँदैन।"
रवि लामिछाने प्रहरी हिरासतमा
सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। उनीमाथि विभिन्न जिल्लामा बयान लिने प्रक्रिया जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीको यो टिप्पणीले सहकारी ठगी प्रकरण र नेतृत्वका चुनौतीहरूलाई जोडतोडले उठाएको छ।
- Jigyasa media