काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक खिचातानी र असन्तुष्टि अब सतहमै आउन थालेको छ। पार्टीकी सहमहामन्त्री तथा समानुपातिक सांसद सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। पार्टी अध्यक्ष रवि लामिछाने सहकारी काण्डमा पुनः पक्राउ पर्नुअघि नै सुमनाले राजीनामा दिइसकेको उच्च स्रोतको दाबी छ। यद्यपि, राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन।
स्रोतका अनुसार, सुमनाले ‘पार्टीमा संरचनात्मक सुधार, पुस्तान्तरण र एक व्यक्ति, एक पद’ जस्ता माग पुरा नभएको भन्दै अल्टिमेटमसहित राजीनामा दिएकी थिइन्। ‘चैत २१ गतेसम्म राजीनामा स्वीकृत नभए आफैं सार्वजनिक रूपमा घोषणा गर्ने चेतावनी दिएकी थिइन्’, स्रोतले भन्यो, ‘त्यहीबीच अप्रत्याशित रूपमा अध्यक्ष लामिछानेलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दियो। घटनाले राजनीतिक समीकरणलाई नै उल्ट्यायो।’
यो घटनाक्रमसँगै २३ चैतमा चितवनमा हुने आमसभाको तयारी गरिरहेकै अवस्थामा पार्टीले सुमनाको राजीनामाबारे विज्ञप्ति सार्वजनिक गर्न लागेको तर, राजनीतिक जटिलता र सार्वजनिक धारणा नकारात्मक बन्ने डरले विज्ञप्ति रोकेको बताइएको छ। सुमनालाई समेत 'होल्ड' हुन आग्रह गरिएको थियो।
पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठ मंसिर २०८० मा जलेश्वरमा बसेको बैठकबाट सहमहामन्त्रीमा नियुक्त भएकी थिइन्। तर पछिल्लो समय लामिछाने नेतृत्वको गतिविधिप्रति उनी खुलेर असन्तुष्ट देखिइरहेकी छिन्। खासगरी रवि लामिछानेले पार्टीलाई आफ्नो व्यक्तिगत बचाउको माध्यम बनाएको जस्तो देखिँदा, सुमनालगायत केही नेताहरू आजित भएको बताइन्छ।
कार्यक्रमहरूबाट अनुपस्थित
रविको पुनः सक्रियता पछि सुमना पार्टीको मुख्य कार्यक्रमहरूमा सहभागी भएकी छैनन्। १८ चैतमा भएको केन्द्रीय समिति बैठकमा उनी अनुपस्थित रहिन्। १९ चैतमा सभामुखलाई ज्ञापनपत्र बुझाउन गएका रास्वपाका नेताहरूको टोलीमा समेत उनी देखिएनन्।
त्यस टोलीमा उपसभापति डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसदहरू अशोक चौधरी, शिव नेपाली, हरि ढकाल, सोबिता गौतम र तोसिमा कार्की थिए।
औपचारिक धारणा : ‘राजीनामा होइन, प्रस्ताव मात्रै’
तर पार्टीले भने सुमनाको कदमलाई राजीनामा नभई "प्रस्ताव"को रूपमा व्याख्या गरेको छ। कार्यवाहक प्रवक्ता मनिष झा भन्छन्, ‘उहाँले राजीनामा दिएको होइन। विधायिकीमा केन्द्रित हुन सहमहामन्त्री पद अरूलाई दिने प्रस्ताव मात्र गर्नुभएको हो।’
उनको भनाइमा, सुमना एक व्यक्ति–एक पदको सिद्धान्तमा विश्वास गर्छिन् र त्यसैले विधायिकी भूमिकामा अझ प्रभावकारी हुने सोचसहित सहमहामन्त्री पदमा अर्कोलाई मौका दिन चाहन्छिन्।
भित्रभित्रै उबलिरहेको असन्तोष ?
यद्यपि, सुमनाको यो कदम सामान्य प्रशासनिक प्रस्ताव मात्र नभएको, पार्टी नेतृत्वप्रतिको गहिरो असन्तुष्टिको संकेत हो भन्ने विश्लेषण हुन थालेको छ। लामिछानेको विवादास्पद पुनरागमन, पार्टीको संस्थागत अनुशासनमा देखिएको विचलन र स्वच्छ राजनीतिका नारामाथि उठेका प्रश्नहरूले सुमनाको निर्णयलाई अझ गम्भीर बनाएको हो।
यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक बिहीबार दिउँसो पार्टी कार्यालय बनस्थलीमा बस्दैछ। बैठकमा सुमना श्रेष्ठको राजीनामाबारे पनि गहन छलफल हुने बताइएको छ।
- Jigyasa media