काठमाण्डौ । श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ। सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटले जितेको हो। पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो।
टस जितेर ब्याटिङको निम्तो पाएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १६१ रन बनायो। श्रीलंकाका लागि कुसल परेराले ५३ रनको अर्धशतकीय इनिङ खेले। उनले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। पथुम निसानकाले ३२ रन र कामिन्दु मेन्डिसले २६ रन बनाए। श्रीलंकाका कप्तान चरिथ असालान्का १४ रनमा आउट भए।
श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रवि बिश्नोईले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिए। अक्षर पटेल, हार्दिक पाण्डेय र आर्शदीप सिंहले समान २-२ विकेट हात पारे।
१६२ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ सुरु भए लगत्तै वर्षा भएपछि खेल अवरुद्ध भयो। वर्षाले खेल अवरुद्ध भएपछि ८ ओभरमा छोट्याइएपछि भारतले ७८ रनको चुनौती पायो। भारतले उक्त लक्ष्य ६.३ ओभरमा ३ विकेट गुमाएर ८१ रन बनाउँदै पूरा गर्यो।
भारतका लागि यशस्वी जैसवालले १२ बलमा सर्वाधिक ३० रन बनाए भने कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन जोडे। हार्दिक पाण्डेयले ९ बल खेल्दै नटआउट २२ रन बनाए।
श्रीलंकाका लागि महेश थेक्षाना, वानिन्दु हसरंगा र मथिसा पाथिरानाले समान १-१ विकेट लिए। यो जितसँगै भारत शृङ्खलामा २-० ले अगाडि छ।
- Jigyasa media