काठमाडौं — काठमाडौंमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० महिला क्रिकेट सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको छ। लगातार दोस्रो हारसँगै नेपाल अंकविहीन रहेको छ, भने थाइल्याण्डले लगातार दोस्रो जित दर्ता गर्दै ४ अंक जोडेको छ।
नेपालले टस जितेर ब्याटिङ रोज्दा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन बनायो। नेपालका लागि कविता कुँवर र बिन्दु रावलले समान २५ रन बनाए। कप्तान इन्दु बर्माले १५, कविता जोशीले ८, र सिता राना मगरले २ रन जोडे। थाइल्याण्डका बलर थिपचा पुत्थावोंगले ३ विकेट लिए भने फन्नीता माया र नाट्टाया बुचाथमले समान २ विकेट लिए।
१०२ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नान्नापत बुइथोंगले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६० रन जोडे। नेपालका बलर मनिषा उपाध्यायले २ विकेट लिए भने कविता जोशी, कविता कुँवर, र रुबिना क्षेत्रीले समान १ विकेट लिए। खेलका दौरान कविता कुँवर र मनिषा उपाध्याय घाइते भई मैदानबाट बाहिरिएका थिए।
नेपालले आफ्नो तेस्रो खेलमा आइतबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ भने थाइल्याण्डले सोमबार नेदरल्याण्ड्ससँग खेल्नेछ।
- Jigyasa media