धनगढी, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
बिहीबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले राजीनामा दिने घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामा प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाउने जानकारीसमेत प्रदेश सभालाई गराएका छन्।
बजेटका विषयमा असहमति जनाउँदै नेकपा एमालेले गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। समर्थन फिर्ता भएको ३० दिनपछि मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन्।
मुख्यमन्त्रीको राजीनामासँगै अब सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गर्नेछन्।
शाहको राजीनामापछि सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिने भएको छ भने नयाँ मुख्यमन्त्री चयनका लागि दलहरूबीचको राजनीतिक गतिविधि थप तीव्र हुने देखिएको छ।
-
Jigyasanepal