काठमाडौं।
नेप्से परिसूचकले निरन्तर तेस्रो कारोबार दिन पनि बढ्ने क्रमलाई कायम राखेको छ। बुधबार सेयर बजार सकारात्मक रहँदै बन्द हुँदा नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेको छ।
पछिल्ला दुई दिनदेखि सुधारको यात्रामा रहेको बजारले आज पनि उही लयलाई निरन्तरता दिएको हो। यस दिन सेन्सेटिभ इन्डेक्स १.१८ अंक, फ्लोट इन्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४४ अंकले बढेका छन्।
कारोबार रकममा उल्लेख्य वृद्धि
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २९ करोड रुपैयाँमा सीमित कारोबार बुधबार ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ पुगेको छ।
यस दिन ३३२ स्टकको ५८ हजार ९६ पटकको कारोबारमा ८५ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको हो।
दुई कम्पनीमा सकारात्मक सर्किट
बजार खुलेको दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने चिरख्वा हाइड्रोपावरको सेयर मूल्य करिब साढे ५ प्रतिशतले बढेको छ।
यद्यपि, बजारमा आएका कम्पनीमध्ये बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ।
यूनियन हाइड्रोपावर कारोबारमा अग्रस्थानमा
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको बुधबार २२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघ्दा ङादी ग्रुप पावरको करिब साढे ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
१३ मध्ये १० उपसमूह हरियालीमा
उपसमूहतर्फ हेर्दा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूह घटेका छन्।
यस दिन वित्त उपसमूह सर्वाधिक १.७५ प्रतिशतले उकालो लागेको छ।
यद्यपि होटेल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूह भने सामान्य गिरावटसहित बन्द भएका छन्।
लगातार तेस्रो दिनको सुधारले सेयर बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएको संकेत गरेको छ।
-
Jigyasanepal