Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा बढ्दै गर्मी

  •   ५ महिना अघि | ४ जेष्ठ २०८३, सोमवार

काठमाडौं । देशका विभिन्न प्रदेशमा सोमबार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आज मध्यम वर्षाको सम्भावना देखिएको छ भने अन्य केही क्षेत्रमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ भने बाँकी तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहने मौसमविद्ले बताएका छन्। मधेस प्रदेश तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान छ। यस क्रममा कोसी प्रदेशका केही तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा अन्य पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्का अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले अत्यधिक गर्मी महसुस हुन सक्छ।

रातिको समयमा पनि कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि कायम रहने मौसम महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको संकेत

मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। बिहान उपत्यकाको आकाशमा थोरै बादल देखिए पनि दिउँसो बदली बढ्ने अनुमान गरिएको छ।

‘आज दिनभर घाम र बादल दुवै देखिने सम्भावना छ,’ मौसमविद् ढकालले बताएका छन्। यद्यपि उपत्यकामा पानी पर्ने सम्भावना भने तुलनात्मक रूपमा कम रहेको उनको भनाइ छ।

वर्षाको मापन कसरी गरिन्छ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा भनिन्छ। १० देखि ५० मिलिमिटरसम्म वर्षा भए मध्यम वर्षा र ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी वर्षा मानिन्छ।

त्यसैगरी १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी वर्षा तथा २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षा भएको मानिन्छ।

‘थोरै’, ‘केही’ र ‘धेरै’ स्थान भन्नाले के?

मौसमविद्का अनुसार १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्ने सम्भावना भए ‘एक–दुई स्थान’ भनिन्छ। १० देखि ३० प्रतिशत क्षेत्रमा वर्षा हुने सम्भावना भए ‘थोरै स्थान’ भन्ने गरिन्छ।

त्यस्तै ३० देखि ५० प्रतिशत क्षेत्रमा वर्षा हुने सम्भावना भए ‘केही स्थान’ तथा ५० देखि ८० प्रतिशत क्षेत्रमा वर्षा हुने सम्भावना भए ‘धेरै स्थान’ भन्ने गरिएको छ। ८० प्रतिशतभन्दा बढी क्षेत्रमा पानी पर्ने सम्भावना हुँदा ‘अधिकांश स्थानमा वर्षा’ हुने सम्भावना रहेको जनाइन्छ।

  • Jigyasanepal

थप