काठमाडौँ । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ।
निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दललाई शुक्रबार औपचारिक रूपमा चुनाव चिह्न वितरण गरिएको हो। सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार आयोगले मंसिर २१, २२ र २३ गते तीन दिनको समय दिएर समानुपातिक प्रणालीतर्फ सहभागी हुन दलहरूबाट आवेदन माग गरेको थियो।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन १०० राजनीतिक दलले आवेदन दिएका थिए। तर, दुई वा दुईभन्दा बढी दलले एउटै एकल चुनाव चिह्न प्रयोग गर्ने गरी आवेदन दिएपछि कूल ९३ वटा मात्र चुनाव चिह्न कायम गरिएको हो।
निर्वाचन आयोगले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दलहरूको क्रमसङ्ख्या र चुनाव चिह्न निर्धारण गरेको जनाएको छ। उक्त निर्वाचनमा भाग नलिएका वा नयाँ दर्ता भएका दलको हकमा भने दर्ता क्रमकै आधारमा चुनाव चिह्न प्रदान गरिएको आयोगको स्पष्टिकरण छ।
आयोगले निर्धारण गरेको सूचीअनुसार
पहिलो नम्बरमा सूर्य,
दोस्रोमा रुख,
तेस्रोमा पाँचकुने तारा,
चौथोमा घण्टी,
पाँचौँमा हलो,
छैटौँमा ढल्केको छाता,
सातौँमा लाउड स्पिकर चुनाव चिह्न तोकिएको छ।
त्यसैगरी समानुपातिकतर्फ सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसिया लगायतका विभिन्न चुनाव चिह्न पनि प्रदान गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले ‘बस’ एकल चुनाव चिह्न प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले ‘चकिया (जाँतो)’ एकल चिन्ह पाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले ‘कोदालो’, भने सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले ‘जगर भएको सिंह’ एकल चुनाव चिह्न पाएको निर्वाचन आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रक्रियालाई पारदर्शी, व्यवस्थित र निष्पक्ष बनाउन आवश्यक सबै तयारी तीव्र पारिएको पनि जनाएको छ।
-
Jigyasanepal