काठमाडौं, चैत २४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको गणतन्त्र स्थापना पछाडि प्रारम्भिक सहमतिको जग आफू, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रको संयुक्त भूमिकाबाट तय भएको दाबी गरेका छन्।
नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा आइतबार बोल्दै नेपालले तत्कालीन राजा ज्ञानेन्द्र स्वयंले सत्ताबाट पछि हट्ने निर्णय गरेका थिए भन्ने खुलासा गरे।
“गणतन्त्रको मार्गचित्र गिरिजाबाबु, म र ज्ञानेन्द्र मिलेर बनाएका हौं,” नेपालले भने, “माओवादी नेतृत्व पछि मात्रै त्यो प्रक्रियामा सामेल भएको हो, हामीले धेरै अघिदेखि तयारी गरिसकेका थियौं।”
उनका अनुसार तत्कालीन एमालेले साउन/भदौमै गणतन्त्रको पक्षमा निर्णय लिइसकेको थियो। “२०६३ वैशाख ११ गते म, गिरिजाबाबु र राजाको प्रतिनिधिहरूबीच सहमति भयो,” उनले सम्झिए, “त्यो दिन राजाले सम्पूर्ण अधिकार जनतालाई हस्तान्तरण गर्ने कागजातमा सहमति जनाउनु भएको थियो।”
पूर्वराजा फर्किन खोजेको भन्ने चर्चा झुटो भएको समेत अध्यक्ष नेपालले उल्लेख गरे। “पूर्वराजाका सचिवले नै भन्नुभयो, ‘उहाँ फर्कन चाहनुहुन्न।’ त्यसैले अफवाहमा नअल्झिनुहोस,” उनले स्पष्ट पारे।
अध्यक्ष नेपालको भनाइ अनुसार जनयुद्धको नेतृत्व लिएका माओवादीहरू पछि मात्रै राजनीतिक मूलधारमा प्रवेश गरेका हुन्। गणतन्त्र स्थापनाको औपचारिक ढोका भने गिरिजा, ज्ञानेन्द्र र माधव नेपालबीचको गुप्त सहमतिबाट खुलेको हो भन्ने उनले जोड दिए।
- Jigyasa media