Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

"त्यागलाई कमजोरी नठानियोस्, इतिहास नास गरेर उभो लागिन्न" : पूर्वराजा ज्ञानेन्द्र

  •   १ वर्ष अघि | ६ फाल्गुन २०८१, मङ्लबार

काठमाडौं । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा कटाक्षपूर्ण भनाइ राख्दै हालको व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले आफ्नो राजगद्दी त्यागलाई कमजोरी ठान्न नहुने चेतावनी दिंदै, इतिहास मेटेर कुनै पनि मुलुक अघि बढ्न नसक्ने धारणा व्यक्त गरेका छन्।

राजगद्दी त्यागको कारण, व्यवस्था परिवर्तन र अपेक्षाहरू

पूर्वराजा ज्ञानेन्द्रले सन् २००८ मा राजतन्त्रको अन्त्यपछि नेपालले गणतान्त्रिक शासन प्रणाली अपनाएको भए पनि आम नागरिकको अवस्था अझै सुधार हुन नसकेको बताए। "व्यवस्था बदलियो तर अवस्था बदल्न सकेनन्," भन्दै उनले हालको राज्यव्यवस्थाले जनताको आशा पूरा गर्न नसकेको उल्लेख गरे।

उनले प्रजातन्त्रलाई एक आशाजनक प्रणालीका रूपमा परिभाषित गर्दै भने, "प्रजातन्त्रले जनताको भरोसा जित्नुपर्छ। यो आम नागरिकको अनुहारमा मुस्कान ल्याउने, उनीहरूलाई खुशी र समृद्ध बनाउने प्रणाली हुनुपर्छ। हामीले यही आशा राखेका थियौं, तर आज तीन दशकपछि पनि सोही प्रश्न यथावत् छ— के जनताले साँच्चै परिवर्तनको अनुभूति गर्न सकेका छन्?"

इतिहास मेट्न खोज्ने प्रयासको आलोचना

पूर्वराजाले नेपालका ऐतिहासिक उपलब्धिहरूलाई ओझेलमा पार्न खोजिएको आरोप लगाए। उनले भने, "हाम्रो इतिहास मेटेर, पहिचानको अपमान गरेर हामी उभो लाग्न सक्दैनौं। नेपाल भक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो। यसको अस्तित्व जोगाउन सबैको भूमिका महत्त्वपूर्ण छ।"

उनले वर्तमान अवस्थामा देशको युवा जनशक्ति विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गरे। "नेपालका सक्षम युवा आफ्नो माटोमा होइन, विदेशी भूमिमा पसिना बगाइरहेका छन्। जन्मदै नेपालीको शिरमा लाखौं ऋणको बोझ थपिएको छ। यस्तो अवस्थामा प्रजातन्त्रको सार्थकता के हो?" उनले प्रश्न गरे।

"हामीले राजगद्दी त्यागे पनि हाम्रो समर्पण समाप्त भएको छैन"

पूर्वराजाले आफूले सत्ता त्यागे पनि राष्ट्रप्रति आफ्नो समर्पण अझै कायम रहेको बताए। "राष्ट्रको हितका लागि हामीले उदारता देखाउँदै आएका छौं। सत्ताको लोभले होइन, जनताको भलाइको लागि हामीले आफ्नो ओहदा र सुविधाहरू त्याग्यौं। तर त्यागलाई कमजोरी ठान्नु गलत हुनेछ।"

उनले निषेधको राजनीतिले देशलाई कहिल्यै अगाडि नबढाउने बताउँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। "राजनीति पक्ष–विपक्षमा बाँडिएर अहंकार, स्वार्थ र हठवादमा फस्नु हुँदैन। सच्चा प्रजातन्त्रले सबैको पहिचान र अस्तित्व सुरक्षित गर्छ।"

राष्ट्रिय एकताको लागि आह्वान

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सन्देशमार्फत सबै नेपालीलाई राष्ट्रिय एकता र सहकार्यको आह्वान गरेका छन्। "हामीले विगतमा पनि राष्ट्रिय समस्याहरू समाधान गर्नका लागि त्याग गरेका थियौं। अब नेपालको उन्नति, समृद्धि र पहिचान जोगाउन हामी सबैले मिलेर अघि बढ्नुपर्छ। यदि राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको उन्नतिका लागि सबै देशबासीको योगदान आवश्यक छ।"

उनले अन्त्यमा सबै नेपालीको हितका लागि शुभकामना व्यक्त गर्दै भने, "श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल!"


  • Jigyasa media

थप