काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्न र संशोधन प्रस्तावमाथि व्यापक छलफल हुने भएको छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक बहस सुरु हुन लागेको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ। त्यससँगै सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउँदै आफ्ना धारणा राख्नेछन्।
संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास, रोजगारी सिर्जना, डिजिटल सेवा विस्तार, कृषि आधुनिकीकरण तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधारका विषय समेटिएको सरकारको दाबी छ। तर विपक्षी दलहरूले कार्यक्रमलाई “घोषणामुखी” र “कार्यान्वयनविहीन” भन्दै आलोचना गरिरहेका छन्।
आजको बैठक विशेष रूपमा चासोको विषय बनेको छ, किनभने प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार छलफलका क्रममा उठेका जिज्ञासा, आलोचना र सुझावमाथि प्रधानमन्त्रीले धारणा सार्वजनिक गर्नेछन्।
संसद् भवन नयाँ बानेश्वरमा हुने बैठकलाई लिएर राजनीतिक वृत्तमा चहलपहल बढेको छ। सत्ता पक्ष नीति तथा कार्यक्रमलाई “परिवर्तनको रोडम्याप” को रूपमा प्रस्तुत गरिरहेको छ भने प्रतिपक्षले जनअपेक्षा पूरा गर्न नसक्ने दस्तावेज भएको आरोप लगाइरहेको छ।
आजको बैठकपछि आगामी बजेट अधिवेशन अझै बढी राजनीतिक रूपमा तात्ने अनुमान गरिएको छ। नीति तथा कार्यक्रम पारित भएपछि सरकारले आगामी जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्ने संवैधानिक तयारी गरिरहेको छ।
-
Jigyasanepal