काठमाडौँ, चैत २३ । केपी शर्मा ओली नेतृत्वको प्रधानमन्त्रीत्व र भारतीय संस्थापनबीचको चिसिएको सम्बन्धमा सुधारको संकेत देखिएको छ। छैठौं बिम्स्टेक शिखर सम्मेलनका क्रममा बैंकक पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको एक्लाएक्लै भेटवार्ताले दुई देशबीचको संवादमा ‘नयाँ मोड’ ल्याएको अनुमान गरिएको छ।
यसअघिका औपचारिकतासम्म सीमित रहेका ओली–मोदी भेटवार्ताको स्वरूप यसपटक पूर्णत: फरक देखियो। पूर्वनिर्धारित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता नै स्थगित गर्दै दुई प्रधानमन्त्री वान–अन–वान अर्थात् ‘एक्लाएक्लै’ झण्डै ४० मिनेट गफिएपछि, द्विपक्षीय सम्बन्धमा फेरि आत्मीयताको संकेत देखिएको हो।
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रतिनिधिमण्डललाई छोडेर ओली एक्लै मोदीसँग वार्तामा सहभागी भएको पुष्टि गरेका छन्। परराष्ट्र मन्त्रालयले पूर्वघोषणा गरेअनुसार नेपाली प्रतिनिधिमण्डलमा डा. आरजु राणा देउवा, युवराज खतिवडा, एकनारायण अर्याल लगायत उच्च अधिकारीहरू रहने भनिएको थियो।
तर, अन्तिम समयमा पूरा भेटवार्ता दुई नेताबीच निजी तहमै सीमित भयो। कूटनीतिक वृत्तमा यसलाई ‘सन्देशमूलक मोड’ मानिएको छ।
भेटपछि सामाजिक सञ्जाल ‘एक्स’ मा प्रधानमन्त्री ओलीले मोदीलाई ‘प्रिय मित्र’ सम्बोधन गर्दै भेट आत्मीय र सार्थक भएको उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदीले पनि नेपाल–भारत सम्बन्धलाई विशेष प्राथमिकता दिएको र छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
मोदीले भनेका छन्, “हामीले उर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिका क्षेत्रहरूमा छलफल गर्यौं। बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त सकारात्मक नतिजाहरू – विशेषतः विपद् व्यवस्थापन र समुद्री यातायातसम्बन्धी विषयमा पनि कुराकानी गर्यौं।”
राजनीतिक विश्लेषकहरूका अनुसार यो भेटवार्ता ओली–मोदी सम्बन्ध सुधारको ‘आइसब्रेक’ बनेको छ। विशेषतः प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बनेको ९ महिना पुग्न लाग्दा पनि भारतले औपचारिक दिल्ली भ्रमणको निम्तो नपठाएको पृष्ठभूमिमा यो भेटलाई ‘रिलेशन रिभाइभल’ को रूपमा हेरिएको हो।
यद्यपि, भेटको क्रममा दिल्ली भ्रमणको निम्तो ओलीलाई दिइयो वा दिइएन भन्नेबारे स्पष्ट खुलासा भइसकेको छैन। तर भेटको स्वरूप र नेताहरूका आत्मीय अभिव्यक्तिले आगामी दिनमा दुई पक्षबीच सम्बन्ध झन गहिरिने संकेत दिइसकेको छ।
यसपटकको गोप्य र एकान्त भेटले ओली–मोदी सम्बन्धमा ‘कूटनीतिक तापक्रम’ फेरिएको आभास दिएको छ, जुन सम्भवत: दुई देशबीच लामो समयदेखि रोकिएको संवादको ढोका खोल्ने सुरुवात पनि हुन सक्छ।
- Jigyasa media