काठमाडौं, चैत २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान निर्माणको समयमा आफू धर्मनिरपेक्षता भन्ने शब्द संविधानमा लेखिनु नपर्ने पक्षमा रहेको खुलासा गरेका छन्।
बिहीबार राजधानीमा आयोजित नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै थापाले आफ्नो धारणा मस्यौदा समितिमा स्पष्ट रूपमा राखेको उल्लेख गरे।
‘धार्मिक स्वतन्त्रता भएको देश हो नेपाल’
थापाले भने, “संविधान लेख्दै गर्दा मेरो मत थियो—धर्मनिरपेक्षता होइन, धार्मिक स्वतन्त्रता लेख्नुपर्छ। नेपाल फरक–फरक धर्म मान्ने समुदायहरूको साझा थलो हो। त्यसैले धार्मिक स्वतन्त्रता भन्ने अवधारणा नै उपयुक्त हुन्थ्यो भन्ने मेरो तर्क थियो।”
उनका अनुसार त्यो बेला मस्यौदा समितिका सदस्यका हैसियतले आफूले लिखित रूपमा पनि यो मत राखेका थिए। “तर अन्ततः यो विषय एउटा प्रकारको सम्झौतासँगै संविधानमा समावेश भयो,” उनले स्पष्ट पारे।
‘आधारभूत मूल्यमा सम्झौता गरिएको छैन’
संविधान लेखन प्रक्रियामा धेरै विषयमा सहमति र सम्झौता गरिए पनि कांग्रेसले आफ्नो आधारभूत मूल्यमा सम्झौता नगरेको थापाको भनाइ छ। “हामीले धेरै विषयमा सहमति गर्यौं, तर लोकतन्त्र, मानवअधिकारजस्ता मूल मुद्धामा सम्झौता गरेनौं,” उनले भने।
‘संविधान सुझबुझ र सहमतिबाट आएको हो’
थापाले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सुझबुझ र सहमतिबाट आएको बताए। “यो संविधान नेपाली कांग्रेसले एक्लै बनाएको होइन, तर हामी सबैको सामूहिक प्रयासबाट आएको दस्तावेज हो,” उनले जिकिर गरे।
- Jigyasa media