ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले आन्दोलनका नाममा अनावश्यक आतंक फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
बिहीबार आयोजित महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संसद अवरुद्ध गरेर सरकारको काममा अवरोध पुर्याइँदै आएको बताए। उनले एक निकायको कर्मचारी व्यवस्थापनलाई बहाना बनाई संसद अवरुद्ध गर्नु अस्वाभाविक रहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले चैत १५ गते काठमाडौंका दुई स्थानमा आयोजना हुने जुलुस र सभालाई अनावश्यक रूपमा ठूलो विषय बनाइएको बताए। उनले भने, "जुलुस र सभा हुन्छ, सकिन्छ। तिललाई पहाड बनाउन जरुरी छैन।"
उनले महिलाको संघर्ष र बलिदानकै कारण समाज परिवर्तनको यात्रा अघि बढेको उल्लेख गर्दै, आफ्नो नेतृत्वमा देशले महत्वपूर्ण रणनीतिक आयोजना अघि बढाएको दाबी गरे। देश चौतर्फी विकासको मार्गमा अघि बढेकाले निराश हुने अवस्था नरहेको उनको भनाइ थियो।
- Jigyasa media