काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा आइतबार सिंहदरबारमा बसेको गणतन्त्र समर्थक दलहरूको सर्वदलीय बैठकले तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा सहभागी नेताहरूले शाहको गतिविधिलाई सामान्य रुपमा लिन नहुने धारणा व्यक्त गर्दै उनलाई कानुनी कारबाहीको माग गरेका छन्।
गृहमन्त्री रमेश लेखकका अनुसार बैठकमा सहभागी सबै दलहरूले तीनकुनेमा भएको हिंसात्मक घटनाको कडा शब्दमा भर्त्सना गरेका छन्। उनका अनुसार दलहरूले संविधान समाप्त पार्ने खेलमा पूर्वराजा लागेको आरोप लगाएका छन्।
गणतन्त्रको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता
गृहमन्त्री लेखकले बैठकमा दलहरूबीच गणतन्त्रको रक्षा गर्न एकजुट रहने सहमति भएको बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना लामो संघर्ष र बलिदानको परिणाम हो। त्यसैले यसलाई जोगाउनु हाम्रो कर्तव्य हो। नागरिकलाई थप सुविधा दिने र समृद्धितर्फ लैजाने एक मात्र विकल्प यही व्यवस्था हो। तर, संविधान उल्ट्याउने र गणतन्त्र समाप्त पार्ने प्रयासलाई सामान्य रूपमा हेर्न सकिन्न,’ उनले भने।
बैठकमा चैत १५ गतेको घटनाका दोषी पूर्वराजा शाह रहेको निष्कर्ष निकाल्दै उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउनुपर्ने विषयमा दलहरू एकमत भएका छन्।
पूर्वराजामाथि संविधानविपरीत गतिविधिको आरोप
गृहमन्त्री लेखकका अनुसार फागुन ७ गतेपछि पूर्वराजाले संविधानविपरीत गतिविधि गर्दै आएको बैठकमा छलफल भएको थियो। ‘फागुन ७ यता पूर्वराजा शाहको गतिविधि गम्भीर छ। तीनकुनेको हिंसात्मक घटना त्यसकै निरन्तरता हो। संविधान विरोधी गतिविधि सह्य छैन, न त क्षम्य नै हुन सक्छ,’ उनले भने।
बैठकपछि दलहरूले जारी गरेको संयुक्त वक्तव्यमा संविधानविरोधी क्रियाकलापमा संलग्न जो–कोहीमाथि कानुनी कारबाही गरिने उल्लेख छ। साथै, आगामी दिनमा लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न सबै दलहरू एक भएर अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ।
- Jigyasa media