Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

२७ वर्षपछि मुगु जिल्लाबाट संघीय सरकारमा मन्त्री

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

मुगु । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुले २७ वर्षपछि नेपाली कांग्रेसबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने अवसर पाएको छ। मुगु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएसँगै मुगुले २७ वर्षपछि मन्त्री पाएको हो।


नेपाली कांग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रीपरिषद्मा मुगु जिल्लाका तत्कालीन प्रतिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री भएका थिए। त्यसपछि २०५२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारले मल्ललाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो। उनी २०५३ सालसम्म उक्त मन्त्रिमण्डलमा रहे। २०५३ साल यता देशमा धेरै सरकार बने–ढले तर मुगुले कहिल्यै संघीय मन्त्रिपरिषद्मा अवसर पाएको थिएन।


नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ गठित सरकारमा मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एक्लो व्यक्ति हुन्।


 नवनियुक्त मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि


मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय, मधुर भाषी र सालिन नेताका रूपमा चिनिन्छन्। आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि शाहीको राम्रो सम्बन्ध छ। मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासको अपेक्षा गरेको छ। शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् र नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापति पनि हुन्।


२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका–२, जडेपानी गाउँमा जन्मेका शाही २०४४–०४५ ताका नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा होमिएका थिए। २०४८–०५१ र २०५२–०५३ मा शाहीले तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव भएर काम गरेका थिए। शाही बहुदलीय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा मुगु जिल्ला सभापति निर्वाचित भएका थिए।


२०७० मा पहिलो पटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित भए। दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बने र २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए। उनले नेकपा एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै ठूलो मतान्तरले जीत हासिल गरे।


शाहीले औपचारिक शिक्षाअन्तर्गत स्नातक तह उत्तीर्ण गरेका छन्। भद्र र सालिन नेताका रूपमा परिचित शाहीले समग्र कर्णालीसहित मुगु जिल्लाको विकासमा ठूलो योगदान गर्ने विश्वास यहाँका जनताले लिएका छन्। 


२०५८ साल माघ १७ गते माओवादीहरूले घर र सम्पत्ति लुटेर शाहीको परिवार विस्थापित भएको थियो। शान्ति प्रक्रियापछि शाहीको परिवार बिस्तारै लयमा आउँदै थियो। अब, शाहीको नियुक्तिले मुगु जिल्लाका जनताले कांग्रेसले न्याय गरेको महसुस गरेका छन्।

  • Jigyasa media

थप