मंगलबार, जेठ ६, २०८२
नेपालमा चट्याङ एउटा प्राकृत विपत्तिभन्दा पनि सिधै जनधन लिने घातक शक्ति बनिरहेको छ। पछिल्लो चार वर्षको तथ्याङ्क हेर्दा चट्याङका कारण २३७ जनाले ज्यान गुमाएका छन् भने ९०८ जना घाइते भएका छन्। सँगै १,६०७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ साउन १ देखि २०८२ जेठ ५ सम्मको अवधिमा १,११८ वटा चट्याङका घटना भएका छन्। प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार, नेपाल विश्वका चट्याङ जोखिममा पर्ने मुलुकमध्ये पाँचौँ स्थानमा पर्दछ।
उनका अनुसार घरगोठ, अग्ला टावर र खुला ठाउँमा रहने मानिस चट्याङको मुख्य निशाना बन्ने गरेका छन्। बर्खायाममा खेतबारी र जंगलतिर काम गर्ने सर्वसाधारण सर्वाधिक प्रभावित हुने तथ्य खुलासा भएको छ।
प्रदेशगत अवस्था :
- कोशी प्रदेश:
सबैभन्दा बढी चट्याङ यहीं पर्यो — २९५ वटा घटना, ५१ को मृत्यु, ८४ घाइते, ४२० चौपाया मरे। १ करोड ६० लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट। - लुम्बिनी प्रदेश:
१८० घटना, ५४ मृत्यु, १६५ घाइते। ३ करोडभन्दा बढीको भौतिक क्षति। - अन्य प्रदेशहरू:
सुदूरपश्चिम (३५ मृत्यु), मधेस (२७), बागमती (२५), गण्डकी (२४), कर्णाली (२१)।
चेतना र प्रविधिको अभाव :
त्रिभुवन विश्वविद्यालयका जलवायु विज्ञ सहप्राध्यापक डा. मदन सिग्देलका अनुसार, चेतना र प्रविधिको अभावकै कारण नेपालमा चट्याङले अन्य मुलुकभन्दा बढी मानवीय तथा भौतिक क्षति पुर्याइरहेको छ।
उनले चट्याङको ८०% क्षति सचेतनाले न्यूनीकरण गर्न सकिने बताए। अध्ययन अनुसार, खुला ठाउँमा, खासगरी दिउँसोको समय खेत जोत्न, घाँस काट्न वा गाईबस्तु चराउन जाँदा बढी दुर्घटना हुने गरेको छ।
राडार बिग्रिए, खतरा अझै बढ्यो :
चट्याङ पूर्वानुमानका लागि उदयपुर, पाल्पा र सुर्खेतमा राखिएका तीनवटा राडार उपकरण थन्किएका छन्। ती उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएमा चट्याङ पूर्वसूचना एक घण्टा अघिसम्म प्राप्त गर्न सकिने विज्ञ सिग्देल बताउँछन्।
समाधान के?
- भवन निर्माणमा चट्याङविरोधी उपकरण जडान अनिवार्य बनाउने
- स्थानीय तहमार्फत वडास्तरमै सचेतना अभियान
- राडार प्रणालीको मर्मत र सुदृढीकरण
-
Jigyasanepal