काठमाडौं, चैत १३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौंमा व्यापक प्रदर्शन गर्ने घोषणा गरेको छ।
पार्टीको आन्दोलन मूल समितिको बैठकले बागमती प्रदेशस्तरीय आमसभा आयोजना गर्ने निर्णय गरेको हो। राप्रपा अध्यक्ष तथा आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय लिएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।
पार्टीले आगामी वैशाख ७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन थाल्ने तयारीसमेत गरेको छ। समान उद्देश्य र विचारधारा बोकेका राजनीतिक दल, संयुक्त जनआन्दोलन समिति तथा विभिन्न संघ-संगठनहरूसँग सहकार्य गर्दै आन्दोलनलाई थप सशक्त बनाइने जनाएको छ।
राजसंस्था पुनःस्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानलाई तीव्र बनाउँदै राप्रपाले अन्य दल तथा अभियानहरूले आयोजना गर्ने शान्तिपूर्ण तथा अहिंसात्मक कार्यक्रममा आफ्नो समर्थन रहने स्पष्ट पारेको छ।
यसैबीच, राप्रपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल बाँकी रहँदै बर्खास्त गरिएको घटनाप्रति आपत्ति जनाएको छ। पार्टीले यसलाई बदनियतपूर्ण निर्णय भन्दै विरोध जनाएको छ।
- Jigyasa media