आज भएको नरसंहार को घटना प्रति हामी स्तब्ध छौँ कसैले पनि सोचेको थिएन कि झण्डै दुई दर्जन युवा को ज्यान एकै निमिसमा जान्छ भन्ने ..!
नेपालमा जन्मिएको नयाँ पुस्ता—‘जेनेरेसन–जी’ (१३ देखि २८ वर्ष उमेर समूह) ले सोमबार सुरु गरेको आन्दोलन पहिलो दिनमै इतिहासकै सबैभन्दा हिँसात्मक भयो । बिहानैदेखि सुरु भएको आन्दोलन बेलुकीसम्म १७ जना युवाको जीवन खोसियो । यो जर्जर अझै घाइते ले जीवन मरणको दोसाँधमा युद्व लडिरहेका छन् । यो संख्या अझै बढ्ने अनुमानले हरेक नेपालीको मन काँपाएको छ । राजधानी मात्र होइन, इटहरी,वीरगन्ज, बनेपा, पोखरासहित प्रमुख सहरहरू र गाउँटोलसम्म विद्रोहको स्वर गुन्जिएको छ । पोखरामा निषेधाज्ञा लाग्नु, उपत्यकामा भिडसँग प्रहरीले गरेको गोली प्रहार, तोडफोड र आगजनी सबै घटनाले देशलाई असाधारण संकटमा धकेलेको छ ।
विद्रोहको जरो
२४ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको असंवेदनशील निर्णय नै चर्किएको विस्फोटको एउटा कारण हो । तर मूल कारण त्यत्ति मात्र होइन । यो पुस्ताले देखेको, भोगेको, सहन नसकेको कुरो हो सरकारको भ्रष्टाचार, नेताको अकर्मण्यता, कर्मचारीको लुटतन्त्र र सुरक्षा संयन्त्रको कठोरता ।
भने अर्को मुख्य तत्व भनेको केही पपुलर व्यक्तिहरूले उक्साहट गर्नु र वाहीवाही कमाउन ती युवा वर्ग लाई समर्थन गरे जस्तो गरेर आफ्नो स्वार्थको राजनीति सेकाउन लागि पर्नु पनि प्रमुख कारण भएको सहजै देखिन्छ ।
आउनुहोस् केही प्रश्न गरौँ ..! आज मुलुकमा कुन कार्यालय भ्रष्टाचारमुक्त छ ? कुन न्यायाधीश राजनीतिक संकेतबिनै फैसला गर्छन् ? कुन प्रहरी जनताको सेवामा निष्पक्ष छ ? नेताका नातेदारले ठेक्का खान्छन्, कर्मचारीले घूस चुस्छन्, पत्रकार दलका पाल्तुमा परिणत हुन्छन् । जनताको पसिना चोसेर महल ठड्याउनेहरूको उन्मत्त प्रदर्शनले युवाको हृदय चिरिएको छ ।
जिम्मेवार को ?
युवाको रगत र जीवनको मूल्य बुझ्न सक्ने नेतृत्वमा गृहमन्त्री छैनन् भन्ने पहिलो दिनको आन्दोलनले प्रमाणित गरिसकेको छ । सुरक्षा संयन्त्र असफल भयो, संयमित हुनुपर्ने प्रहरी गोली चलाउनतिर लाग्यो । त्यसैले अब गृहमन्त्रीले पदमा बसिरहनु सरकार र जनतामाथि अपराध गर्ने जस्तै हो । तत्काल राजीनामा नै उनको न्यूनतम नैतिक दायित्व हो ।
तर, दोष मात्र गृहमन्त्रीको छैन । देशलाई यो चरम दुरावस्थासम्म ल्याउने जिम्मेवारी ठूला दलका नेताहरूमा बराबरी बाँडिएको छ । तर अहिलेको सत्ताधारी प्रधानमन्त्री नै सम्पूर्णतया जिम्मेवार छन् । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले निष्कपट हृदयले देशवासीसमक्ष माफी माग्नुपर्छ । माफी माग्दा नेताको कद घट्दैन, बरु बढ्छ ।
आन्दोलनको आत्मा
यो आन्दोलन न कुनै राजनीतिक दलको निर्देशनमा चलेको हो, न कुनै वादको छायाँमा जन्मिएको हो । यो त स्वतःस्फूर्त विद्रोह हो—भ्रष्ट, धनाढ्य, अकर्मण्य र निरंकुश सत्ताका विरुद्ध । युवाले देखाएको आक्रोशले नै देशभर जनसमर्थनको लहर उर्लिएको छ ।
तर, आन्दोलनको उग्रता संयमित हुन सकेको भए र संसद् भवनमा आगजनी वा पर्खाल भत्काउनेजस्ता कार्य रोक्न सकिएको भए, ज्यान र सम्पत्तिको यो ठूलो क्षति हुने थिएन । त्यसैले जिम्मेवारी आन्दोलनकर्ताले पनि लिनुपर्छ ।
के गर्नुपर्छ ?
अब प्रश्न यो हो—यो आन्दोलन कहाँ पुग्छ ?
सरकारले जनतालाई शत्रु होइन, आफ्नै सन्तान ठानेर संवादको ढोका खोल्नुपर्छ ।
प्रधानमन्त्रीले देशवासीसमक्ष नतमस्तक भएर माफी मागेर समाधानको बाटो देखाउनुपर्छ ।
गृहमन्त्रीले असफलताको जिम्मेवारी स्वीकारेर तत्काल राजीनामा दिनुपर्छ ।
जेन–जी पुस्ताले संयम, संगठन र रणनीतिक बुद्धिमत्ता देखाउनुपर्छ । किनकि आन्दोलन केवल आक्रोश होइन, भविष्य निर्माणको जिम्मेवारी पनि हो ।
लोकतन्त्र मानवअधिकार को रक्षार्थ पनि सरकार ले युवा पुस्ता माझ झुक्नु पर्छ नैं किनभने देशमा व्याप्त भ्रष्टाचार निराशा र अभाव बेरोजगारी ले आक्रान्त पारिरहेको तत्कालिन। अवस्थालाई मिहिन ढंगले बुझ्न ढिला गर्नु हुँदैन ।
आजको विशेष सम्पादकीय यही हो राज्यले माफी माग, मन्त्रीले राजीनामा देऊ, र आन्दोलनकारीले संयमित भएर देशलाई नयाँ बाटोतर्फ अघि बढाऊन् अग्रसर हुनु जरुरी छ ।
-
Jigyasanepal